पोखरा, २२ माघ/प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक आज सम्पन्न भएको छ । बैठकमा भाग लिन सबै प्रदेश सासंदहरु पोखरा आइपुगेका थिए । दलको बैठकले आज हुने बैठक सवा घण्टा चल्ने तय गरेको थियो । बैठकले प्रदेशसभा सञ्चालन कार्यविधि २०७४ पारित गर्ने निर्णय समेत गरेको प्रदेशसभाका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिएका थिए।
बैठकमा ३ ठूला दलका ३/३ जना र साना २ दलबाट १/१ जना गरी ११ जनाले बोल्ने ब्यवस्था मिलाईएको थियो । सभामुख र उपभामुखको निर्वाचन भने फागुन ३ र ६ गते सहमती दलका नेताले बताएका छन् ।
बैठकमा एमालेबाट पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ थिए भने काँग्रेसबाट कृष्णचन्द्र नेपाली र विन्दुकुमार थापा माओबादीका हरि चुमान र नेत्रनाथ अधिकारी, जनमोर्चाले कृष्ण थापा र नयाँ शक्ति पार्टी नेपालबाट हरिशरण आचार्य सहभागी थिए ।
प्रदेशसभामा नेकपा एमाले, माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति गरी ५ दलको प्रतिनिधित्व थियो । प्रदेश ४ मा एमालेका २७, काँग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ गरी कुल ६० सदस्य छन् । प्रदेशसभामा सहभागी हुने सांसदहरुको लागि दलहरुले छुट्टाछुट्टै होटलमा व्यवस्था गरेका छन् ।
प्रदेशसभा बैठकस्थलमा नेपाल प्रहरीका निरीक्षकको नेतृत्वमा ५५ जना मर्यादापालक र सभास्थल बाहिर २५ जना सुरक्षाकर्मी खटिएको टोलीले जनाएको छ ।