Breaking News

एमाले-माकेबीचको एकता पक्का

By Peoplesdailynepal

February 15, 2018

३ माघ, काठमाडौँ । हुन्छ, हुँदैन, होला कि नहोला ? भन्ने प्रश्नबीच नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेको छ । माओवादी केन्द्र आफ्नो पार्टी अध्यक्ष पाउने पर्ने अडानबाट पछि हटेसँगै एकता हुने करिब करिब पक्का भएको हो ।

दुबै पार्टीका शिर्ष नेताहरुले बुधबार विभिन्न चरणमा गरेको वार्ताहरुले एकतालाई अन्तिम विन्दुमा पुर्याएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्ड आलोपालो नेतृत्व गर्न तयार भएपछि पार्टी एकता हुने पक्कापक्की भएको हो ।

लिखित सहमतिको लागि ७ बुँदा तयार गरिएपनि हस्ताक्षर भने भएन । पहिलो बुँदामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीबारे छ । जसमा ओली र प्रचण्डले साढे दुईदुई वर्ष अर्थात आधाअधा समय नेतृत्व गर्नेछन् । दोस्रो बुँदामा पार्टीका नाम र तेस्रो बुँदा मार्गनिर्देश सिद्धान्तबारे सहमति भएको छ ।

यस्ता छन् ७ बुँदा

१. दुई अध्यक्ष हुने र प्रधानमन्त्रीमा आलोपालो गर्ने । जसमा सुरुको साढे २ वर्ष पार्टी र सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले ।

२. एकतापछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने ।

३. एकीकृत पार्टीका राजनीतिक दर्शन मार्क्सवाद र लेनिनवाद रहने ।

४. एकता महाधिवेशनसम्म पार्टीको कार्यदिशा समाजवाद उन्मुख नयाँ कार्यदिशा निर्माण र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने ।

५. दुई अध्यक्षबाहेक बहुपद सृजना नगर्ने । एकसय भन्दा कमको केन्द्रीय समिति बनाउने ।

६. राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रलाई ।

७. पार्टीको केन्द्रीय समिति ९९ सदस्यीय बनाउने ।

हिजै दुबै पार्टीका बैठकले मोटामोटी पार्टी एकतालाई अनुमोदन गरिसेका छन् । माओवादी केन्द्रको कार्यालय बैठकले आलोपालो नेतृत्व प्रणालीलाई अनुमोदन गरेको छ ।

त्यसैगरी एमाले बैठकले प्रधानमन्त्रीको उम्मेदवार ओलीलाई बनाउने निर्णय गर्दै एकता प्रक्रियालाई टुंगोमा पुर्याउने निर्णय गरेको छ ।

यसैबीच अालोपालो नेतृत्व गर्ने सहमतिप्रति एमालेभित्र असन्तष्टी देखिएको छ । विशेषगरी ओली समूहका नेताहरुले अालोपालो नेतृत्वले राजनीतिक अस्थिरता पैदा गर्ने बताउँदै सरकारको नेतृत्व अालोपालो नगर्न सुझाव दिइरहेका छन् । उता माकेका नेताहरुले भने खुशीयाली मनाइरहेका छन् ।