Breaking News

ओलीको राजनीतिक यात्रा :

By peoplesdailynepal

February 15, 2018

प्रधानमन्त्री ओलीको राजनैतिक यात्रा

नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा (केपी) ओलीको जन्म २००८ साल फागुन ११ गते भएको हो । तेह्रथुमको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको कोखबाट उहाँको जन्म भएको हो । झापामा विद्यालय जीवन सुरु गर्नुभएका ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गर्नु भएको थियो । ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट २०२८ सालमा प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण गर्नुभएको थियो ।

२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएका ओलीले २०२६ सालमा नेकपाको सदस्यता लिनुभएको थियो । २०२८ सालको झापा आन्दोलनका नेतृत्वकर्तामध्ये ओली पनि एक हुनुहुन्थ्यो । झापा आन्दोनलन गरेको वर्ष नै उहाँ जेल पनि पर्नुभयो । ओली तत्कालीन नेकपा (माले) को संस्थापक नेता समेत हुनुहुन्छ ।

पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन बिताउनु भएको छ । जेल जिवनबाट मुक्त भएपछि ओली २०४८ सालको आम निर्वाचनमा पहिलो पटक विजयी हुनुभएको थियो । त्यसपछि भएका २०५१ र २०५६ सालको आम निर्वाचनमा पनि उहाँ झापा क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभामा विजयी हुनुभएको थियो ।

पहिलो संविधान सभा चुनाव २०६४ मा भने उहाँ झापाको क्षेत्र नम्बर ७ बाट पराजित हुनुभयो । २०४९ सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य हुनुभएका ओली २०५१ सालदेखि २०५२ सालसम्म गृहमन्त्री बन्नुभएको थियो भने २०६४ देखि २०६५ सम्म उपप्रधान तथा परराष्ट्रमन्त्री बन्नुभएको थियो ।

दोश्रो संविधानसभा चुनाव २०७० मा झापा क्षेत्र नम्बर ७ बाट विजयी हुनुभएका ओलीले आफ्नै पार्टीका अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दे २०७० साल माघ २१ गते एमाले संसदीय दलको नेतामा विजयी हुनुभएको थियो ।

२०७१ साल साउन १ गते एमालेको नवौं महाधिबेशनबाट एमालेका नेता माधव कुमार नेपाललाई पराजित गर्दै उहाँ एमालेको अध्यक्षमा विजयी हुनुभएको थियो । एमाले संसदीय दलको नेता समेत रहनुभएका ओली पार्टी अध्यक्षमा विजयी भएपछि संसदमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो पार्टीको अध्यक्ष तथा संसदीय नेताको हैसियतले भावि प्रधानमन्त्रीको रुपमा हेरिएको थियो ।

पार्टी अध्यक्ष भएको १ वर्षपछि नै ओली २०७२ असोज २४ गते एमाले संसदीय दलको नेताको रुपमा उहाँ नेपालको ३८ औं प्रधानमन्त्री बन्नुभएको थियो । नेपालमा संविधान जारी भएपछि प्रधानमन्त्री बन्नुभएका ओली नेतृत्वको सरकारले भारतले गरेको नाकाबन्दीको सामाना गर्नुपरेको थियो ।

भारतको नकाबन्दीलाई डटेर सामाना गर्दै नेपालको पारवहन सम्झौता चिनसँग गरेको हुनाले ओली नेतृत्वको सरकार त्यो समयमा निकै लोकप्रिय भएको थियो । झण्डै १० महिना सरकारको नेतृत्व गर्नुभएका ओलीले ०७३ साल साउन ९ गते प्रधानमन्त्री पदबाट राजिनामा दिनुभएको थियो ।

प्रधानमन्त्री कालमा सफल मानिनुभएका ओली पार्टी नेतृत्वमा पनि सफल अध्यक्षको रुपमा चित्रित हुनुभएको छ । स्थानीय तह चुनावमा पहिलो पार्टी भएको एमाले प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि पहिलो पार्टी भएको छ । प्रदेश र प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रसँग वाम एकता गरेर चुनावमा गएको एमाले र माओवादीले संसदका सबै सदनमा बहुमत ल्याएका छन् ।

वाम एकतासँगै माओवादीसँग पार्टी एकता गर्ने सहमती गरेको एमालेले ३ वर्षे प्रधानमन्त्रीका लागि पार्टी अध्यक्ष केपीओलीलाई अगाडि सारेपछि २०७४ साल फागुन ३ गते ओली नेपालको ४१ औं प्रधानमन्त्रीको रुपमा चुनिनुभएको छ । लामो सङक्रमणकालको अन्त्यपछि तथा संघीय नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा ओली अबको ३ वर्ष नेपालको प्रधानमन्त्री रहनुहुनेछ ।