Breaking News

गोविन्द केसीकै जन्ममिति तीनवटा, नागरिकताको प्रमाणपत्र पेस नगरी जागिर खाएको खुलासा

By peoplesdailynepal

February 21, 2018

सर्वोच्च अदालतका प्रधानन्यायाधीशको जन्ममिति फरक–फरक रहेको भन्दै नैतिक प्रश्न उठाउने अनशनकारी डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयमा पेस गरेको दस्तावेजहरूमा भिन्न–भिन्न जन्ममिति भएको तथ्य फेला परेको छ ।

हाल केसीको अनसनस्थलको रूपमा चिनिएको त्रिवि शिक्षण अस्पतालमा प्राध्यापक रहेका केसीको एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ गते उल्लेख गरिएको छ । तर, उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फाराममा जन्ममिति २०१३ मंसिर २७ गते भनि लेखिएको छ ।

त्यस्तै, मिति २०६५ साउन २९ गते प्राध्यापक बढुवाका लागि उनले विश्वविद्यालयमा पेस गरेको आवेदन फारममा भने असोज २७ गते २०१३ भनी केसीले आफ्नो जन्ममिति उल्लेख गरेका छन् । केसीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो नागरिकताको प्रमाणपत्र समेत पेस नगरेको बुझिएको छ ।

उनले अनिवार्य रूपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेस नगरेकोले थप आशङ्का जन्माएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति फरक रहेको भनी प्रश्न उठाउने केसीले अब आफ्नै जन्ममिति र नागरिकताको प्रमाणपत्रबारे कसरी स्पष्टिकरण दिने हुन्, जिज्ञाशाको विषय बनेको छ ।

घटना र विचार डटकममा प्रकाशित