Breaking News

एमालेले आफ्नो पार्टी र सबै भातृ संगठनका अधिवेशनमा रोक लगायो

By peoplesdailynepal

February 23, 2018

११ फागुन, काठमाडौं । नेकपा एमालेले पार्टी कमिटी र जनवर्गीय संगठनका अधिवेशन तथा सम्मेलन गर्न रोक लगाएको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय भइसकेकोले भोलि सबै कमिटी तथा जनसंगठनमा तदर्थ कमिटी बनाउनुपर्ने भएकाले मिति तोकिएका अधिवेशन पनि गर्न नपाइने एमाले स्रोतले जनायो

पार्टी स्थायी कमिटीको शुक्रबारको बैठकले पार्टी एकता प्रक्रिया शुरु भएको भन्दै पार्टी र भातृ संगठनका अधिवेशन, सम्मेलन लगायत नेतृत्व चयनका सबै प्रक्रियामा रोक लगाएको हो ।

अब दुई पार्टी एकीकरण गरेपछि सबै ठाउँमा तदर्थ कमिटीहरु बन्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको हो ।

अधिवेशनहरु रोकिए पनि पार्टीका आन्तरिक गतिविधिहरु भने यथावत अघि बढ्ने उनले बताए । पार्टी सदस्यता शुुद्धिकरण, सदस्यता विस्तार, पार्टीका भेला, बैठक, प्रशिक्षणजस्ता आन्तरिक गतिविधि यथावत रहनेछन् ।

स्थायी कमिटी बैठकले एमाले र माओवादीबीच पार्टी एकताका सन्दर्भमा भएको ७ बुँदे सहमतिलाई ग्रहण गर्दै अनुमोदन गरेको छ ।