????????????????????????????????????

Breaking News

एयर एसियालाई नेपाल उडान रोक्ने चेतावनी

By Peoplesdailynepal

March 04, 2018

२० फागुन

काठमाडौँ । मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले ३ दिनभित्र बक्यौता चुक्ता नगरे नेपाल उडानमा प्रतिबन्ध लगाउने भएको छ ।

बक्यौता वापत २४ करोड रुपैयाँ चुक्ता नगरे नेपाल उडान तत्काल रोक्ने भन्दै मलेसियास्थित मुख्यालयलाई पत्र पठाए पनि बारम्बार ताकेता गर्दा समेत एयर एसियाले ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गरेको छ । प्रतिबद्धता अनुसार उसले पुस २३ मा २ करोड र भोलिपल्ट २४ गते थप १० करोड रुपैयाँ चुक्ता गर्ने र बाँकी ११ करोड रुपैयाँ किस्ताबन्दीमा तिर्दै जाने भनेको थियो । एयर एसियाले हाल काठमाडौंका लागि सातामा पाँच उडान भर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय सहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक तथा उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले फागुन १९ भित्र एयर एसियाको उडान रोक्न निर्देशन दिए पनि विमानस्थल व्यवस्थापनले थप तीन दिन फागुन २२ गते अन्तिम म्याद दिएको छ ।

बक्यौता सम्बन्धी छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनेको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए । अझै ठूलो परिमाण बराबरको रकम उठाउन बाँकी रहेको बताइएको छ ।