Image Source: Onlinekhabar

Breaking News

जलेर ध्वस्त विमानबाट ३६ जनाको शव निकालियो, कम्तिमा ५० को मृत्यु भएको आशंका

By peoplesdailynepal

March 12, 2018

काठमाडौं, २८ फागुन । त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा लागेको आगलागी नियन्त्रणमा आए पनि विमान लगभग पूर्ण रुपमा क्षति भएको र विमानभित्रका ठूलो संख्याका यात्रुको ज्यान गएको विमानस्थल स्रोतले जानकारी दिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

सुरक्षा स्रोतले करि ३६ यात्रुको ज्यान गएको जानकारी दिएको छ। मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने समेत सुरक्षा स्रोतले जानकारी दिएको छ। कम्तिमा ५० जनाको मृत्यु भएको आशंका रहेको छ । त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको विमान धावनमार्गमा आगलागीले ध्वस्त भएपछि अहिले विमानस्थलमा उद्धार प्रयास जारी छ। केही यात्रुहरुलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेजतर्फ लगिए पनि अन्य यात्रुबारे सुरक्षाकर्मीहरुले बताइरहेका छैनन्।

बाँकीको अवस्थाबारे सुरक्षाकर्मीले स्पष्ट रुपमा केही बताएका छैनन्। विमानको अवस्था हेर्दा यात्रु जीवित रहने सम्भावना एकदमै कम रहेको सुरक्षाकर्मीहरुले बताएका छन् । विमानस्थलका एक कर्मचारीले भने, ‘ठूलो संख्यामा यात्रुको ज्यान गएको छ । अहिलेसम्म १७ जनालाई उद्धार गरेर अस्पताल लगिएको छ। करिब ५० यात्रुको ज्यान गएको छ ।’ युएस बंग्लाको उक्त क्यानेडियन एयरक्राफ्टमा ६७ यात्रु र चालकदलका चार सदस्य थिए । उक्त विमान ढाकाबाट काठमाडौँ आएको थियो ।