Breaking News

जनकारबाहीको ध्वाँस, केराबारीमा फैलियो त्रास

By Peoplesdailynepal

March 15, 2018

मोरङ । मोरङका स्थानीय तह खाली गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्रचार नै गरेर धम्की दिएपछि मोरङको केराबारी गाँउपालिकामा त्रास सिर्जना भएको छ । कैलालीको घोडाघोडी नगरपालिकाका मेयरलाई गोली हानेको केही दिन बित्न नपाउँदै केराबारी गाँउपालिकाको कार्यकारी अधिकृतलाई सम्बोधन नै गरेर स्थानीय तह खाली गर्न चेतावनी दिएपछि त्रासको बाताबरण सिर्जना भएको छ । पत्रमा चैत ४ गते सम्ममा स्थानीय तह खाली गर्दै कुनै पनि काम कारवाही नगर्नका लागि जनप्रतिनिधी र कर्मचारीलाई धम्की दिइएको छ ।

जनपरिषद्का प्रमुख मिसायलद्धारा हस्ताक्षरीत पत्रमा यही चैत ४ गते स्थानीय तह खाली गराउने निर्णय जनसत्ताले गरेको खुलाइएको छ । स्थानीय तहमा कार्यरत कर्मचारी र जनप्रतिनिधीलाई त्यो दिन कुनै पनि काम नगर्न र नगराउन र स्थानीय तह खाली गर्नका लागि उर्दी जारी गरिएको पत्र प्राप्त भएको केरावारी गाउँपालिका अध्यक्ष रोहित कार्कीले बताए । संसदिय व्यवस्थाका प्रतिनिधीबाट संचालित कुनै पनि निकाय र त्यसको शासन जनताले सम्पूर्ण रुपमा खारेज गरिदिएको पत्रमा उल्लेख छ । स्थानीय तहमा काम नगर्न र तह खाली गर्नका लागि धम्कीपूर्ण पत्र प्राप्त भएपछि सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताए ।

‘सबै स्थानीय तहको सुरक्षा व्यवस्था कडा पारिएको छ । जनप्रतिनिधी र कर्मचारीको सुरक्षामा पनि विशेष ध्यान पु¥याइएको छ,’ कटवालले भने । उनका अनुसार सबै स्थानीय तहमा हतियार सहितका प्रहरीले सुरक्षा दिइरहेका छन् । तरपनि कारबाहीको पत्रले केराबारी र आसपासका गाँउपालिका र नगरपालिकामा त्रासको बाताबरण सिर्जना भएको छ ।