Breaking News

पर्यटनमन्त्रीले भने – त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालन गर्छु

By peoplesdailynepal

March 25, 2018

चैत ११, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने घोषणा गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता बढाएर सञ्चालन अवधि थपिने बताएका हुन् ।

‘सिङ्गल रनवे भए पनि २४ घण्टा सञ्चालन गर्न सकिन्छ । संसारमा प्रयोग भएका सबैखाले प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्न सकिन्छ । विगतमा समय थप्न सकिदैन भन्नेहरुले पनि अहिल तीन घण्टा थप्न सकिन्छ भनिसके । प्रयास गरियो भने २४ घण्टा पनि सकिन्छ’ उनले भने ‘बम्बइमा एउटा रनवे भएको विमानस्थल २४ घण्टा चल्छ भने यहाँ किन चल्दैन ?’

मन्त्री अधिकारीले सञ्चालन अवधि बढाएपछि अहिले भइरहेको एयर ट्राफिकको समस्या कम हुने दाबी गरे । विमानस्थल सञ्चालन अवधि बढेसँगै सहरको चहलपहल पनि बढ्ने र त्यसले पर्यटन व्यवसायमा थप टेवा पुग्ने उनको भनाइ छ । ‘काठमाडौलाई पनि १८ घण्टा जागा बनाउँछु । भविष्यमा २४ सै घण्टा काठमाण्डौ खुला हुन्छ’ उनले भने ।