चितवन, १६ चैत। विमानस्थलको सुरक्षालाई चुनौती हुने गरी भएका मानवीय गतिविधिमा भरतपुर विमानस्थलले रोक लगाउने छ ।विमानस्थलका प्रमुख पवनकुमार गौतमले आगामी वैशाख १ गतेबाट लागू हुने गरी नयाँ सुरक्षा योजना ल्याइने बताएका छन् ।
राजनीतिक दलका नेता, प्रधानमन्त्री, मन्त्री, सांसद आउँदा असम्बन्धित व्यक्ति विमानस्थलको संवेदनशील क्षेत्रमा प्रवेश गरेकाले सुरक्षा चुनौती बढेको भनाई छ ।
भीभीआईपी र भीआईपी आउँदा स्वागतमा विमानस्थल टर्मिनलभित्र लाग्ने भीड नियन्त्रण गर्न अब निश्चित संख्या तोकिने बताए ।
कार्यालयले स्तनपान कक्ष र वृद्धवृद्धाका लागि विशेष कक्षको व्यवस्था गर्न लागेको छ । जहाज अवतरण गर्ने हाकिम चोक क्षेत्र आसपासका अग्ला भवन र विमानस्थल सीमानजिक रहेको बिजुलीको तारले अप्ठ्यारो परिरहेको उनको भनाई छ ।
यो विषयमा जानकारी गराउँदा महानगर र विद्युत् प्राधिकरणले ध्यान नदिएको पनि बताए ।