Breaking News

अन्नपूर्णको बिरेठाँटी छहरामा क्यानोनिङ प्रतियोगिता हुने

By Peoplesdailynepal

April 04, 2018

पोखरा ,२० चैत्र । कास्कीको पर्यटकीय गाँउ बिरेठाँटीमा साहसिक खेल क्यानोनिङ प्रतियोगिता हुने भएको छ । नेपाली नयाँ बर्षको अवसरमा विरेठाँटी क्यानोनिङ, रेष्टुरेण्ट एण्ड बारको आयोजना तथा पोखरा क्यानोनिङ प्रालि कास्कीको सह आयोजनामा यहि चैत २९ गतेदेखी बैशाख १ गतेसम्म ‘क्यानोनिङ प्रतियोगिता २०७५’ हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

करिब ६ महिना अघि मात्र संचालनमा आएको कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ८ स्थित बिरेठाँटी छहराको प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धन गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक पूर्ण कोने गुरुङले बताए ।

प्रतियोगितामा नेपालका विभिन्न ठाउँमा रहेका क्यानोनिङ गाईड, खेलाडी गरि करिब ५० भन्दा बढीको सहभागिता हुने गुरुङले जनाए । उनका अनुसार साहसिक खेल क्यानोनिङको माध्यमबाट खेल पर्यटनको विकास र विस्तार गर्ने उद्धेश्यले आयोजना हुने भएको हो ।

प्रतियोगिता अन्तर्गत पहिलो चरणमा उत्कृष्ट १० छनौट गरिने, दोश्रो चरणमा उत्कृष्ट ५ छनौट गरेर अन्तिम प्रतिष्पर्धाबाट बिजेता छनौट गरिने पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङले बताए । समयको आधारमा विजेता खेलाडी छनौट गरिने भएको छ । क्यानोनिङ प्रतियोगिताको अवसरमा राष्ट्रिय चर्चित कलाकारहरुको लाइभ कन्सर्ट, पुल डान्स पार्टी र स्थानिय कलाकारहरुबाट पञ्चे बाजासहित सांस्कृतिक कार्यक्रम प्रदर्शन हुने भएको छ ।

प्रतियोगिताले क्यानोनिङ गाईडहरुलाई लाईसन्स दिलाउन थप मद्धत पुग्ने विश्वास व्यक्त गरे लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचनले क्यानोनिङ गाईडहरुलाई लाईसन्स दिलाउने बिषयमा आफुहरुले सेमत पहल गर्ने जनाए । क्यानोनिङ खेललाई व्यवसायिक रुपमा अघि बढाउन लाईसन्स आवश्यक भएको बताइन्छ । प्रतियोगिताको बिजेताले नगद ३०, द्वितीयले २० हजार र तृतीयले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्ने भएका छन । प्रतियोगिता सञ्चालनका लागि करीब ५ लाख खर्च लाग्ने आयोजकको जनाएको छ । प्रतियोगिताको मूख्य प्रायोजकमा चीनबहादुर प्यारी प्रतिष्ठान रहेको छ ।