Breaking News

सामाजिक संस्थाहरु अब राजनीति हस्तक्षेप मुक्त : मन्त्री विश्वकर्मा

By Peoplesdailynepal

April 05, 2018

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाल स्काउट संगठन गैरराजनीतिक, सामाजिक उद्देश्य बोकेको विशुद्ध शैक्षिक अभियान भएकोले राजनीति हस्तक्षेपबाट मुक्त भएर चल्नुपर्ने बताएका छन् ।

नेपाल स्काउटको कार्यालय लैनचौरमा मंगलबार आयोजित छलफल कार्यक्रममा अधिकांश वरिष्ठ स्काउट एवम् पदाधिकारीहरुले नेपाल स्काउट पछिल्लो समयमा राजनीति हस्तक्षेपबाट मुक्त हुन नसकेको गुनासो गरेपछि प्रमुख स्काउटको हैसियतमा मन्त्री विश्वकर्माले उक्त धारणा राखेका हुन् । नेपाल स्काउटका प्रमुख स्काउटसमेत रहेका मन्त्री विश्वकर्माले स्काउटको सबैभन्दा ठूलो भेला ज्याम्बोरी र वर्तमान कमिटीलाई आफ्नो नेतृत्व क्षमता देखाउने अवसर रहेको उल्लेख गरे । उनले आफू प्रमुख स्काउटको हैसियतले सकारात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको समेत बताए । उनले स्काउटको ज्याम्बोरी प्रधानमन्त्री केपी शर्मा भारत भ्रमणको तालिकालाई ख्याल गरेर तय गरिने बताए । यसअघि चैत्र २४ गते नुवाकोटको ककनीमा स्काउटको भेला गर्ने भनिएको थियो ।

प्रमुख स्काउट विश्वकर्माले नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा शपथ लिएका थिए । उनलाई नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले नेपाल स्काउटको स्कार्फ लगाइदिएका थिए । नेपाल स्काउटको प्रमुख स्काउटको हैसियतमा दीक्षा लिएपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले स्काउट संगठन यसको विशुद्ध उद्देश्य र मर्मअनुरुप चल्न जरुरी रहेकोमा जोड दिएका थिए ।

खेलकुद मन्त्रालयका सचिव महेश दाहालले स्काउटको शाख उँचो राख्न सबै स्काउटहरु लाग्नुपर्ने बताए । उनले नेपाल स्काउटका कार्यक्रमलाई अन्तर्राष्ट्रियजगत्‌मा प्रवर्द्धन गर्नुपर्ने, पूर्वाधारको विकासमा जोड दिनुपर्ने, संघीय संरचनाअनुसार स्थानीय र प्रादेशिक तहमा स्काउट विकास र विस्तार गर्नुपर्ने बताए ।