स्थापनाको २१ वर्षपछि पोखरा विश्वविद्यालयमा पहिलोपटक स्वतन्त्र विद्यार्थी यूनियनको अध्यक्षमा एमाले निकट अनेरास्ववियुका सुनिल तिमिल्सिना निर्वाचित भएका छन ।
बुुधवार भएको निर्वाचनमा निकटतम काँग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदवार डिफान भुजेललाई २ सय २६ मत अन्तरले पराजित गदै विजयी तिमिल्सिना स्ववियुको संस्थापक अध्यक्ष बन्न समेत सफल भएका छन ।
विश्वविद्यालयका २ हजार १ सय १७ जना विद्यार्थीहरु मध्ये १ हजार ७ सय ६९ जनाले मतदान गरेकोमा विजयी तिमिल्सिनाले ८ सय ४५ र निकटतम भुजेलले ६ सय १९ मत ल्याएका थिए । यसैगरी अध्यक्षमा अखिल क्रान्तिकारीका सुधन पन्तले ४९, स्वतन्त्र उम्मेदवारी दिएकी अनेरास्ववियुकी वागी कुशुम शिला भट्टले १ सय ४८ र अर्का स्वतन्त्र उम्मेदवारी दिएका नेविसंघका वागी सुभाष प्रसाद पौडेलले ७५ मत ल्याएका निर्वाचन समितिका सदस्य योगराज लामिछानेले जानकारी दिए ।
सचिवमा अनेरास्ववियुका सुरज परियार ९ सय १४ मत ल्याएर विजयी हुँदा निकटतम नेविसंघका नारायण सापकोटाले ५ सय ४० मत ल्याए भने अखिल क्रान्तिकारीका विनायक तिमिल्सिनाले एक सय ३० मत पाए । सचिवका स्वतन्त्र उमेदवार बिनोद भण्डारीले ९७ र अखिल छैठौंका हेमन्त रानामगरले २० मत मात्र ल्याए ।
कोषाध्यक्षमा अनेरास्ववियुका प्रकृति दवाडी ७ सय २१ मत सहित विजयी हुँदा निकटतम नेविसंघका विनिता लामिछानेले ५ सय ३५ मत ल्याईन भने अखिल क्रान्तिकारीकी सामना सुवेदीले चार सय ४९ मत प्राप्त गरिन् ।यसैगरि खुल्ला ८ सदस्यका लागि भएको निर्वाचनमा अनेरास्ववियुका ६ र नेविसंघका २ जना विजयी भएका छन ।
विजयी हुनेहरुमा अनेरास्ववियुका आशिष केसी आठ सय ४४, यमुना क्षेत्रीले ८ सय ४३ , विनोद बुढाले ७ सय ९८, धनश्याम डुम्रेले ७ सय ७१, सन्देस तिमिल्सिनाले ७ सय ३७, नरेश खनालले सात सय ३४ र नेवि संघका सरोज साहाले ७ सय ५६ र गणेश रिमालले ७ सय २७ मत सहित विजयी भए ।
१९ सदस्य कार्यसमितिको लागि भएको निर्वाचनमा ११ जना प्रत्यक्ष र ८ जना समानुपातीक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने छन् । अहिले समानुपातिकको मतगणना सुरु भएको छ । निर्वाचनमा ३ संगठनका ३ र २ स्वतन्त्र गरि ५ जना अध्यक्ष सहित अन्य पदका लागि ३३ गरि ३८ जना चुनावी मैदानमा होमिएका थिए । समानुपातीकतर्फ यस अघि निर्वाचनका लागि अनेरास्ववियू, नेपाल विद्यार्थि संघ, अखिल क्रान्तिकारी, संघीय समाजवादी विद्यार्थी र अखिल छैटौंले आ–आफ्नो संगठन दर्ता गराएसँगै दर्ता भएका ति ५ संगठनले ८/८ जनाको नाम सहितको बन्द सुची निर्वाचन समितिमा बुझाएका थिए ।
तस्विरहरु : महेन्द्र पौडेल