Breaking News

दुई सारथीको गयो ज्यान, घाइते रहेका पौडेलको पनि मृत्यु (भिडियो सहित)

By Peoplesdailynepal

April 13, 2018

पोखराको एयरपोर्टमा  गत मंगलबार माइक्रोबसको ठक्करपछि गंभिर घाइते भएका युवक सन्दिप पौडेलको पनि मृत्यु भएको छ । पौडेलको उपचारको क्रममा गण्डकी मेडिकल कलजेमा बिहिबार बिहान मृत्यु भएको हो । एयरपोर्ट अगाडी मंगलबार बिहान ग १ ख ३८७७  नम्बरको माइक्रोबसले ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो ।

माइक्रोको ठक्करवाट  मोटरसाइकलमा सवार गुप्तेश्वर माविमा बीबीएस दोश्रो बर्षमा अध्ययनरत २२ बर्षीय शोभाकान्त पनेरुको तत्कालै  मृत्यु भएको थियो । ठक्करवाट गम्भीर घाइते भएका  मोटरसाइकल चालक  पौडेलको तीन दिन पछि ज्यान गएको हो ।

मृतक दुबैको बिहिबारै अन्त्यष्टि गरिएको छ । पनेरुको सेती रामघाटमा तथा पौडेलको दोविल्ला घाटमा अन्त्यष्टि गरिएको हो । मृतक दुवैका परिवारले बिहिबारनै शव बुझेका हुन् । यसअघि पनेरुको मृत्युपछि विद्यार्थी र आफन्त आन्दोलित बनेका थिए । उनीहरुले बुधबार दिउँसो पोखरामा सार्वजनिक यातायात सञ्चालनमा समेत अवरोध पु¥याएका थिए ।

मृतक दुवैका आफन्तले चालक दिप्तीनारायण ढकाललाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् । ‘प्रशासनले उनलाई कडा कारवाही गर्ने आश्वासन दिएकालेनै हामीले शब बुझेका हौ’ मृतक पनेरुका ठुलोबुवा दुर्गाप्रसाद पनेरुले बताए । ‘हामीलाई ५ लाखको प्रलोभन देखाइएको छ, तर हाम्रो माग चालकलाई कडा कारवाही हुनुपर्छ भन्ने हो’ उनले भने । विमा वापत नियमलेनै पाइने पाँच लाख देखाउँदै कसैको ज्यान लिन नपाइने उनको भनाई छ । ‘पाँच लाख तिरेर मान्छे मार्न पाइने, यो कस्तो कानुन हो ?’ उनले प्रश्न गरे । त्यस्तै अर्का मृतक पौडेलका आफन्त हुमप्रसाद अधिकारीले पनि प्रशासनले चालकलाई कडा कारवाही नगरे फेरी सडकमा आउन बाध्य हुने चेतावनी दिए । पनेरु स्याङ्जा घर भइ हाल ड्यामसाइड बस्दै आएका थिए भने अर्का मृतक २४ वर्षिय सन्दीप पौडेल पोखरा लेखनाथ महानगरपालिका वडा २१ का बासिन्दा हुन् ।

घटनापछि आन्दोलित बनेको पोखराका विद्यार्थीहरुले बुधबार दिनभर पोखराको सडकमा नाराबाजि गरेका थिए । आन्दोलित विद्यार्थीले मान्छे मार्न पाइँदैन, हत्याको निष्पक्ष छानबिन गर, चालकको लाइसेन्स खारेज गर लगायतका नाराबाजी गरेका थिए । बिद्यार्थीहरुले बुधबार बिहानः करिब ८ः३० बजे देखि दिउसो २ः०० बजेसम्म पोखराको राष्ट्रबैंकचोक, सृजनाचोक र सभागृहचोकमा  नारा जुलुस गर्दै  माईक्रोबस चालकलाई ज्यान मार्ने मुद्धा चलाई लाईसेन्स खारेजी गर्नुपर्ने  नारा समेत लगाएका थिए ।

माईक्रोबस चालकको लापरवाहीको कारण पोखरामा सडक दुर्घटना  बढ्दै गएकोले त्यसको बिरोध स्वरुप आफुहरु सडकमा उत्रिनु परेको सहभागि एक बिद्यार्थी इश्वर भुजेलले पोखरा न्युजलाई बताए । अर्को बिद्यार्थी अनिस ढकालले प्रहरी प्रसासनले आफुहरुको शान्ति पुर्ण आन्दोलनमा दमन गरेको आरोप लगाए । बिद्यार्थीहरुले सडकमा नारा जुलुस गर्दै पोखरा बस ब्यबसायी समितिद्धारा संचालन भएका बसहरुलाई संचालन नगर्न चेतावनी दिदा समितिका केहि बसहरु केहि समय रोकिएका थिए । बस चालकलाई कडा कारवाही नभए आफुहरु फेरी सडकमा उत्रने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

माईक्रो बस चालक स्याङजा आधिखोलाका ३६ बर्षीय दिप्ती नारायण ढकाललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

तस्बीर- बिद्यार्थीहरुको आन्दोलन