Breaking News

आज मातातिर्थ औशी, आमाप्रति श्रद्धाभाव प्रकट गरि मनाइदै

By Peoplesdailynepal

April 16, 2018

वैशाख ३, काठमाण्डौ/ प्रत्येक वर्ष आमाप्रति श्रद्धाभाव प्रकट गर्ने आज मातातीर्थ औंशी हो । आजका दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरी आमा भएको ठाउँमा गएर आफ्नो क्षमताअनुसार विभिन्न मिष्ठान्न खुवाउने र आमालाई विभिन्न उपहार दिने चलन छ । यो दिन आमा जीवित हुनेहरूले आमालाई मीठा मीठा परिकार बनाएर खुवाउने, लुगाफाटो तथा अन्य विविध उपहार दिएर कृतज्ञता जाहेर गर्ने गर्दछन् भने आमा नहुनेहरू भने यस दिन काठमाडौँं उपत्यकाको पश्चिमतर्फ रहेको मातातीर्थ गई दिवङ्गत आमाको सम्झना गर्ने गर्दछन् ।

मातातीर्थ कुण्डमा स्नान गरेपछि सन्तानले आफ्नो आमाको मुक्तिको कामना गर्दै तर्पण दिन्छन् । उक्त कुण्डमा पवित्र मनका साथ हेर्दा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने जनविश्वास रहेको छ । त्यहाँ गएर दिवङ्गत आमाको सम्झना गरे छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने र आफ्नी आमालाई पनि मुक्त गराउन सक्ने धार्मिक मान्यता रहेको छ ।

स्वस्थानी व्रत कथाअनुसार यो तीर्थमा सतीदेवीको अङ्ग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो । त्यसकारण पनि यस ठाउँमा आएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुख सन्तोष पाउने विश्वास रहिआएको छ ।

अर्को किंवदन्तीअनुसार भगवान् विष्णुको सातौं अवतारका रूपमा मर्यादा पुरुषोत्तम श्रीराम वनवासका क्रममा घुम्दै यो ठाउँमा आइपुगेको समेत भनिन्छ । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाले आक्रमण गरे । फलस्वरूप श्रीराम र उनीहरूबीच घमासान युद्ध भई दुवै पक्ष आकुलव्याकुल भए । त्यही बेला माता सीताजीलाई प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् श्रीरामले गङ्गामाताको स्तुति गर्दै जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाइन् । ब्रह्माण्डको दर्शन पाउँदा उनको स्वरूप कुण्डमा रहेको ढुङ्गाको मूतिर्तकोरिन पुग्यो ।

अर्को किंवदन्तीअनुसार प्राचीनकालमा उक्त स्थानमा घना जङ्गल भएकाले गाई चराउन आएका गोठालाहरू कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालोको मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदो रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ, तर घर फर्कने बेलामा गोठालोले एक्लै फर्कन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई ‘हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू’ भन्ने वाचाका साथ छोरालाई सम्झाइबुझाई फर्काइदिइन् । त्यसै समयदेखि नै यो तीर्थको नाम मातातीर्थ रहन गएको हो ।