काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको ३३ किलो सुन तस्करीको अनुसन्धानका लागि पूर्व डीआईजी गोविन्द निरौला पक्राउ परेका छन्। अनुसन्धानका लागि पूर्व डीआईजी निरौला अाइतबार साँझ नयाँ बानेश्वरबाट पक्राउ परेको प्रहरीले जनाएको छ।
गृहका सहसचिव ईश्वरराज पौडेलले डीअईजी निरौला पक्राउ परेको र अनुसन्धान भइरहेको पुष्टि गरे। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको इन्चार्ज हुँदा उनले तस्करलाई सघाएको आशंकामा सरुवा गरिएको थियो। उनीमाथि छानबिन भइरहेको प्रहरीले बताएको छ।
गृहका सहसचिव पौडेलको संयोजकत्वको छानबिन टोलीले तत्कालीन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारी हटाएर बयान लिइसकेको छ। सुन गायब हुनु, भरिया मारिनु र मुख्य तस्कर उम्कनुले प्रहरीको भूमिकालाई शंकास्पद रुपमा लिएर छानबिन समितिले गहिराईमै पुगेर जालो खोतल्ने गरी अनुसन्धान थालेको छ।
लोहनीले आफ्नो मातहतका प्रमुख एआइजी जयबहादुर चन्दलाई नसोधी सिधै तत्कालीन प्रहरी महानिरिक्षक प्रकाश अर्याललाई सोधेर फागुन १८ गते डीएसपी केसीको नेतृत्वको टोली विराटनगर पुगेको थियाे । विराटनगर पुगेको टोलीले धरान पुगेर स्कोरपियो गाडीबाट सुनका भरिया भनिएका सनम शाक्यको शव बरामद गर्यो। तर, धरानमा बरामद शव विराटनगरको पोखरिया पुगेर बरामद भएको मुचुल्का तयार गरेपछि यो घटनालाई शंकास्पद रुपमा हेरिएको थियो।