अन्य

भूकम्प गएको तीन वर्ष पूरा, चार सरकार फेरिए तर पीडित अझै त्रिपालमुनी

By Peoplesdailynepal

April 25, 2018

काठमाडौं, १२ वैशाख। अाज बैशाख १२ गते, २०७२ सालको बैशाख १२ अर्थात अाजकै दिन नेपालमा शक्तिशाली भूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र बनाएर ७.२ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो ।

भूकम्पबाट झण्डै १० हजारले ज्यान गुमाएका थिए भने अर्बौंको भौतिक संरचनामा क्षति पुगेको थियो ।

भूकम्प गएको ११ दिनपछि तत्कालिन प्रधानमन्त्री सुशील कोइराला बारपाक पुगेर पुनः निर्माणको उद्घोष गरेका थिए । तर, तीन वर्ष पुगिसक्दा पनि अझै पीडितहरु खुला अाकाशमुनी नै बसिरहेका छन् । राजनीतिक पार्टीका केही नेता र केही कर्मचारीको लागि भूकम्प उत्सव भइरहेको छ । त्यसैगरी समाज सेवाको नाममा डलरको खेती गर्नेको लागि पनि भूकम्प अझै उत्सव नै भइरहेको छ ।

नेपालमा राजनीतिक र प्राकृतिक घटनाले एउटा वर्गको उत्थान गर्ने गरेको छ । अाजैको दिन गएको भूकम्पले केही पहुँचवाला केही नेता र कर्मचारीसँगै राहतको नाममा खेतीपाती गर्नेहरुको जीवनस्तर उठाइदिएको छ । त्रिपाल हुँदै नक्सापास गर्न कर्मचारीले मागेको घुसले यही भन्छ ।

भूकम्पपछि सुशील कोइरालालाई छोडेपनि केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा हुँदै पुनः ओली प्रधानमन्त्री भइसक्दा पनि पीडित परिवारले ओत लाग्‍ने छानो पाएका छैनन् । विदेशीले दिएका राहत केही एयरपोर्ट कुहिएका छन् । त्यसैगरी विभिन्‍न सरकारी कार्यालयमा राहत रकम सडेर खेर गएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणले अपेक्षा गनेअनुसार काम अगाडि बढाउन सकेको छैन । यतिसम्मकी काठमाडौंको मुटुमा रहेको धरहरा पुनः निर्माणमा एउटा इटा पनि लागेको छैन ।

यसैबीच भूकम्प गएको सम्झनामा अाज सरकारले विभिन्‍न कार्यक्रमको अायोजना गरेका छ । प्राधिकरणले बिहान धरहरा परिसरमा अायोजना गरेको कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका छन् । उनले पुनः निर्माणको काम अगाडि बढेरहेको बताए । ओलीले पीडितले छिट्टै घरमा बस्‍न पाउने समेत बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो काठमाडौं दरवार परिसरको अवलोकन गर्ने कार्यक्रम छ । भूकम्पमा क्षति पुगेको दरबार परिसरका ऐतिहासिक सम्पदाको हाल पुनर्निर्माणको काम जारी छ ।