Breaking News

सडक अतिक्रमणमा परेका संरचनाहरु डोजरले भत्काउन सुरु

By Peoplesdailynepal

April 26, 2018

बुटवल, १३ बैशाख। बुटवल-बेलहिया सडक विस्तार आयोजनाले सडक विस्तार गर्न डोजर लगाएर घरटहरा भत्काउन शुरु गरेको छ ।

राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक विस्तार गर्दा अतिक्रमण गरी बनेका ३११ घर भत्काउनुपर्ने छ ।

आयोजनाको सूचनापछि २५ घरधनीले मात्रै घर भत्काएका छन् । अटेरी भएपछि सडक क्षेत्रभित्रका घरमा डोजर लगाएर भत्काउन थालिएको हो ।

४ वर्ष अघि ४ लेनमा विस्तार गरिएको सडकलाई अहिले पुनः ६ लेन बनाउन थालिएको छ । सडक विस्तार रोक्न ४२ जना घरधनीले घर ‘नभत्काई पाऊँ’ भन्दै सर्वोच्च अदालत र तुल्सीपुर उच्च अदालत बुटवलमा मुद्दा दर्ता गरेका थिए ।

हालै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेपछि आयोजनाले ठेकेदार कम्पनीलाई काम शुरू गर्न आग्रह गरेको हो । सडक विस्तार आउँदो २०७६ असोजसम्म सक्नुपर्ने सम्झौता गरिइएको छ ।