Breaking News

नरेन्द्र मोदीको सुरक्षाका लागि काठमाडौंमा मात्रै १० हजार सुरक्षाकर्मी

By Peoplesdailynepal

May 09, 2018

बैशाख २६, पोखरा / दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि काठमाडौंमा मात्रै १० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । नेपालका चारवटै सुरक्षा निकायका उच्च अधिकारीसहित १० हजार बराबर सुरक्षाकर्मी परिचालन गरिन लागेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । यद्यपी यसको सम्पूर्ण कमाण्ड भने नेपाली सेनाले गर्नेछ । मोदीको सुरक्षाको पहिलो घेरामा भारतीय सुरक्षाकर्मी रहनेछ भने त्यसपछिको सबै सुरक्षा घेरामा नेपालको सुरक्षा संयन्त्र रहनेछन् ।

उच्च प्रहरी स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमार्फत एसपीहरुको कमाण्डमा ६ हजार नेपाल प्रहरी परिचालन हुनेछन् भने सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको टोली पनि परिचालन हुनेछ । मोदीको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका तालिमप्राप्त कुकुरको परिचालन पनि गरिनेछ ।

मोदीको नेपालमा रहँदासम्म ट्राफिक प्रहरीमा कसैलाई पनि बिदा दिइने छैन । प्रहरी अधिकारीका अनुसार काठमाडौं भित्रिने सबै नाकाहरुमा चेकजाँचमा कडाई पारिएको छ ।

भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा रहँदा नेपाली गाडीको प्रयोग गर्नेछैनन् । यसका लागि मंगलबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानबाट रेन्जरोभर र बिएमडब्लु ‘बुलेटप्रुफ’ गाडी ल्याइएको छ ।