Breaking News

मोदीलाई नाकाबन्दीकाे पुरस्कार अभिनन्दन, सामाजिक सञ्जालमा चल्याे विराेधकाे लहर

By Peoplesdailynepal

May 10, 2018

पोखरा, २७ बैशाख। भूकम्पकाे कहर झेलेका नेपाली जनतालार्इ लगत्तै नाकाबन्दी लगाएकाे भारतसामु तत्कालीन प्रधानमन्त्री केपी शर्मा अाेलीले भारतसँग् नझुक्ने प्रण गरे । उनले नाकाबन्दीकाे सामना गर्न जनतालार्इ हुरूक्कै मात्रै पारेनन्, व्यवहारमै देखाए पनि । जसकाे कारण अाेली ‘राष्ट्रवादी’ नेताकाे रूपमा लाेकप्रिय भए र संघीय अाम निर्वाचन उनी र उनकाे पार्टी नेकपा एमाले (वाम गठबन्धन समेत) ले अत्यधिक बहुमत प्राप्त गर्याे । हाल अाेली साेही बहुमतका अाधारमा सत्तामा छन् । तर नाकाबन्दीकाे ३ वर्ष पनि पूरा भएकाे छैन, उनकाे व्यवहार ठीक उल्टाे बनेकाे भन्दै जनतामा चर्काे अाक्राेश र विराेधका स्वर उत्पन्न भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही शुक्रबार दुईदिने नेपालको धार्मिक भ्रमणमा अाउँदै छन् ।  भन्नलार्इ धार्मिक भनिए पनि यसले नेपालमा ठूलै राजनीति तरंग ल्याएकाे छ । उनको यो भ्रमणलाई यसपाली नेपालीहरुले मन पराएका छैनन् । उनकै स्वागतमा सरकारले अर्बाैं खर्चेर रातारात टालटुले विकास गरेकाे अाराेप खेप्नु परेकाे छ । स्पष्ट रुपमा नै सामाजिक सञ्जालमा अहिले विराेधकाे चर्काे लहर अाएकाे देख्न सकिन्छ ।

नेपालले २०७२ असोज ३ गते जारी गरेको संविधानका केही विषयमा असन्तुष्टि जनाउँदै भारतले गरेको नाकाबन्दी सम्झँदै नेपालीहरुले सामाजिक सञ्जालमार्फत यसको विरोध गरेका हुन् ।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका विश्व प्रकाश शर्माले भनेका छन्, ‘दुर्इ ठाउँमा माेदीकाे अभिनन्दन किन ? नाकाबन्दीकाे भूल बाेध गराउँदै कि भुल्दै ?’

माेदी अाउनुअघि नै विराेध सुरू भइसकेकाे थियाे सामाजिक सञ्जालमा । ट्वीटरमा प्रयाेक्ताहरूले #BlockadeWasCrimeMrModi  ट्रेन्डिङ नै चलाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले शुक्रबार बेलुकी ८ बजे १० मिनेट ब्ल्याकआउट गर्ने भन्दै प्रचारलार्इ  तीव्र पारेका छन् । ट्वीटर प्रयोगकर्ता अनुप लामिछाने लेख्छन्– मोदीको कुट्ने कूटनीति र हाम्रा नेताको चिप्लोमेसीको विरोधस्वरुप २८ गते बेलुकी ८ बजेदेखि ८.१० सम्म बत्ती निभाउँ ।

ग्यासको लाइनमा बसेका नेपाली, डिजेल नपाएर एउटै बसको छतमा सयौं जना बसेर यात्रा गरेका तस्बिर राखेर मोदी नेतृत्वको सरकारले नेपालप्रति गरेको नाकाबन्दीको स्मरण गरिएको छ । ट्वीटर प्रयोगकर्ता बेदान्त ठकुरी लेख्छन्– एमालेका मेरा प्यारा मित्रहरु ! टिएलमा खुट्टो टेक्ने ठाउँ छैन ? नेतृत्वले गलत गरे विरोध नगर्ने ? हिजो पनि विरोध गरिएको थियो आज पनि गरिँदैछ ।

लेखक खगेन्द्र संग्राैलाले नेपालमा माेदी नभएर विकास नभएकाे रहेछ भन्दै व्यंग्य गरेका छन् । माेदीलार्इ प्रभुकाे रूपमा हेरेर नेपाली नेताहरू दुर्इ दिन सडकमा सरसफाइ र विकासकाे प्रहसन गरिरहेकाे अाशयमा व्यंग्य कसेका छन् ।

कवि भूपिन तथा पत्रकार, लेखक मुमाराम खनालले माेदीकाे अभिनन्दन अाफूजस्तै सच्चा नेपाली नागरिकलार्इ सैह्य नभएकाे बताएका छन् । खनालले भारतले २७ सालदेखि लगाएकाे नाकाबन्दीलार्इ हाम्रा सबै पुस्ताले झेलेकाे बताएका छन् ।

घनश्याम श्रेष्ठले नाकाबन्दीकाे कहर सम्झँदै त्यतिबेलाकाे कालाेबजारीकाे अवस्था उजागर गरेका छन् । कवि सरिता तिवारीले अाेलीकाे राष्ट्रवाद नांगिसक्दा पनि उनका भक्तहरू चूप लागेकाे भन्दै राेष व्यक्त गरेकी छन् ।