Breaking News

कोट्याउँदा उप्किन्छ पिच, गुणस्तरहीन काम भइरहेको जानकारी गराउँदा सडक डिभिजनको बेवास्ता

By Peoplesdailynepal

May 14, 2018

सुर्खेत, ३१ वैशाख– तपाईंलाई लाग्न सक्छ, कालोपत्रे गरिएको सडकमा केही वर्ष त राम्रोसँग यात्रा गर्न पाइएला ।  तर सुर्खेत वीरेन्द्रनगरको सिम्ताली चोकको सडकको व्यथा अर्कै छ । कात्तिकमा कालोपत्र सम्पन्न गरिएको सडकमा सवारी साधन मोड्दासमेत कालोपत्रे उप्किने गरेको छ । सडक कालोपत्रे गर्दा प्रयोग गरिएको सामाग्री न्यून गुणस्तरको भएका कारण पीच गरिएको ६ महिना नकट्दै उप्किएको हो । ग्रावेल सडकमाथि न्यून स्तरमा गरिएको कालोपत्रे गरिएको उक्त सडकको पिचलाई हातैले उखेल्न सकिन्छ ।

वीरेन्द्रनगरको  वडा नं. ८ मा बनाइएको करिब १ किलोमिटर सडक निर्माणको जिम्मा द कालीसिद्धी कन्स्ट्रक्सनले १ करोड २४ लाखमा ठेक्का पाएको थियो । ठेकेदारले सडक पीच गर्दा न्यून स्तरको सामाग्री प्रयोग गर्दा यस्तो अवस्था आएको वडा अध्यक्ष थम्मप्रसाद गौतमले बताए ।

गौतमका अनुसार डिजाइन स्टमेट अनुरुप कालोपत्रे गरिएको भए ६ महिनामै पीच उप्किने दिन हेर्नुपर्ने स्थिति आउने थिएन । ‘हामीले निरन्तर सडक डिभिजन कार्यालय सुर्खेतलाई कालोपत्रे स्तरीय भएन भनेर जानकारी दिएका थियौं’ गौतमले भने, ‘तर हाम्रो कुराको कुनै सुनुवाई भए ।’ सरकारी रकम दुरुपयोग गर्नेलाई विभागले कारवाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

‘जानकारी दिंदा दिदै पनि सडक विभाग किन चुप ?’ वडा अध्यक्ष गौतमले प्रश्न गर्दै भने ‘कतै ठेकेदारसँग मिलेमतो त छैन ?’ एउटा मोटरसाइकल घुमाउँदा कालोपत्रे उप्किने अवस्था छ भने ठूला सवारी साधन गुड्यो भने अवस्था के होला  ? उनले प्रश्न गरे ।

स्थानीय डण्डीप्रसाद शर्माले निर्माण व्यवसायीले कम्तिमा पनि आवश्यक मापदण्ड अनुरुप भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिए । ‘यो सडक जनताको सेवाका लागि हो । राज्यको पैसा खर्च भएको छ भन्ने हेक्का राख्नुपर्छ’ शर्माले भने, ‘तर निर्माणकर्ताको कसरी पैसा छिटो फुत्काउने र अलिअलि कालोपत्रे गरेजस्तो गर्ने भन्नेमा मात्र ध्यान केन्द्रीत भएको हुनसक्छ ।

’ उनले सडकको ग्रावेल भने स्तरीय गरिएको बताए । ‘राम्रो कामलाई राम्रै भन्नु पर्छ ।’ उनले भने, ‘अहिलेको कालोपत्रे सडकभन्दा ग्रावेल कहियौं गुणा राम्रो थियो ।’यता, सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर दिपेन्द्र विष्टले के कारणले कालोपत्रे उक्किएको हो आफूले हेरेपछि मात्रै बताउन सकिने बताए ।

‘दिउँसोमा कतै डिजेल पोखिएको र त्यसैमाथि मोटरसाइकल चलाएकोले पनि कालोपत्रे उक्किएको हुनसक्छ’ उनले भने, ‘त्यो हेरेर मात्रै थप प्रतिक्रिया दिन सकिन्छ ।’ इन्जिनियर थापाले सडक विगे्रेको भए ठेक्का सम्झौता सम्पन्न भएको एक वर्षभित्र कुनै त्रुटी देखिएमा निर्माणकर्ताले निर्माण गर्नुपर्ने बताए । ‘

सडकको कालोपत्रे उप्किएको भए हामीले निर्माण कम्पनीलाई निरीक्षण पश्चात तत्काल पत्र लेख्छौं’ उनले भने, ‘त्यसपछि निर्माणकर्ता कम्पनीले सुधार गर्नुपर्ने हुन्छ ।’ यसबारेमा निर्माण कम्पनीका ठेकेदार चन्द्र कोइरालासँग यसबारेमा बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन् ।