पोखरा,३१ बैशाख। तीन वर्षीया एक बालिकालाई बलात्कार पछी हत्या गर्ने एक व्यक्तिलाई फासीको सजाय हुने भएको छ । भारतको मध्यप्रदेश राज्यको इन्दौरमा तीन महिना चार दिन उमेरकी एक बालिकालाई अपहरण गरेर बलात्कारपछि हत्या गरेको आरोपमा अजय गडकेलाई स्थानीय अदालतले फासीको सजाय सुनाएको हो ।
भारतीय संचारमाध्यमहमरुका अनुसार बालबालिकामाथि हुने यौनदुर्व्यवहार नियन्त्रण गर्ने कानून (पोक्सो)मा केन्द्र सरकारले गरेको संशोधनपछि त्यस्तो अपराधमा मृत्युदण्डको सजाय सुनाइएको यो पहिलोपटक हो । केन्द्र सरकारले उक्त कानून संशोधन गर्दै १२ वर्षभन्दा कम उमेरका बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय हुने व्यवस्था गरेको छ ।
इन्दौरको यो घटनामाथि अदालतमा सात दिनसम्म दैनिक सात घण्टा सुनुवाई भएको थियो । घटना भएको २१ औं दिन सुनुवाई पुरा भएपछि २३ औं दिनमा फैसला सुनाइएको हो । आमाबुवासँगै सुतिरहेकी बालिकालाई अभियुक्तले २० अप्रिलका दिन बिहानै ओछ्यानबाटै उठाएर लगेको र बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
फासीको सजायविरुद्ध अभियुक्तले उच्च अदालतमा पुनरावेदन गर्न सक्ने जनाइएको छ । फैसला चित्त नबुझेमा सर्वोच्च अदालतसम्म जान सकिने र सर्वोच्च अदालतबाट पनि मृत्युदण्डको फैसला सदर भएमा अन्तिममा राष्ट्रपतिसमक्ष क्षमादानका लागि याचना गर्न सकिने प्रावधान रहेको अधिकारीहरुले जनाएका छन् ।
भारतमा बलात्कारको घटनाले निकै डरलाग्दो रुप धारण गरिरहेको अवस्थामा यस्ता घटनाका दोषीलाई राष्ट्रपतिबाट क्षमादानको सम्भावना भने ज्यादै न्यून रहने कानूनविद्हरु बताउँछन् ।