Breaking News

मकालु एयरको जहाज दुर्घटना

By Peoplesdailynepal

May 16, 2018

जेठ २, सुर्खेत/ सुर्खेतबाट उडेको मकालु एयरलाइन्सको जहाज हुम्लाको बाहुन खर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। दुर्घटनामा जहाजमा सवार चालक र सहचालकको ज्यान गएको छ। ९ एन एजेयु कल साइनको उक्त जहाज पहाडमा ठोक्किएर अग्रभाग मैदानमा धस्सिएको अवस्थामा फेला परेको छ। जहाज क्षतविक्षत अवस्थामा भेटिएको छ भने जहाजले बोकेका सामान छरप्रस्ट बनेका छन्।

आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज उडान भरेको केही समयदेखि नै सम्पर्क विहीन थियो।

उक्त जहाजमा सवार क्याप्टेन किरण भट्टराई र सहचालक आदित्य नेपालीले ज्यान गुमाएको पुष्टी भएको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विज्ञप्ति जारी गर्दै विमान दुर्घटना भएको जानकारी दिएका छन्।

महाप्रवन्धक राजकुमार क्षेत्रीले भने, ‘घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको छ, दुवै जनाको मृत्यु भएको खबर छ । थप विवरण आउन बाँकी छ ।’ विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । सुर्खेतबाट बुधबार बिहान हुम्लाको सिमिकोटका लागि विमान उडेको थियो ।