Breaking News

मदन-आश्रित स्मृति दिवसकै दिन एकता गर्न मैले नै प्रस्ताव गरेको हुँ- प्रचण्ड

By Peoplesdailynepal

May 17, 2018

काठमाडौं, ३ जेठ/नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन-आश्रित स्मृति दिवसकै अवसर पारेर एमाले-माओवादी एकता गर्न आफैँले प्रस्ताव गरेको बताएका छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा बिहीवार बिहान आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अब यो दिन नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ प्रक्रिया शुरु भएको दिनको रूपमा समेत परिचित हुने बताए ।

‘इतिहासको निर्माण जनताले गर्छन्, नेपाली जनताले जन्माएका थिए मदनलाई, मलाई गर्व छ, आजकै दिन हाम्रो एकता हुँदैछ,’ प्रचण्डले भने, ‘यो नै महत्त्वपूर्ण सम्मान हुनेछ मदन भण्डारीका लागि ।’

नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको अवसरमा बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी थिए । मदन-आश्रित स्मृति दिवसमा माओवादी पहिलो पटक सहभागी भएको हो ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । दुर्घटनाबारे अहिलेसम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैन ।

दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि घटना झनै रहस्यमय बनेको छ ।