काठमाडौँ, १६ जेठ । सरकारले बृद्धभत्ता बढाउने आशमा बसेका बृद्धबृद्धाहरुलाई निराशा बनाएको छ । आगामी आर्थिक बर्षबाट मासिक पाँच हजार रुपैँया बृद्धभत्ता पाउने आशमा बसेका बृद्धबृद्धाहरुलाई यो बजेटले खुसी ल्याउन सकेन ।
अहिले जेष्ठ नागरिकहरुले मासिक २ हजार रुपैँया बृद्ध भत्ता पाउँदै आएका छन् । तत्कालिन एमाले र माओवादीले गएको चुनावमा बृद्धभत्तालाई पाँच हजार रुपैँया पुर्याउने घोषणा गरेका थिए । तर, चुनावका बेला गरिएको त्यो घोषणा मंगलबारबाट आश्वासनमा मात्रै सीमित भएको छ ।अर्थमन्त्री डा. युवराज खतिवडा बृद्धभत्ताप्रति अनुदार बनेका कारण बृद्धभत्ता बढ्न नसकेको स्रोतको दाबी छ ।
बृद्धभत्ताका कारण राज्यलाई निकै ठूलो भार पर्ने भन्दै उनले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाललाई कन्भिन्स गराएको स्रोतले बतायो ।बृद्धभत्ता बढाउनुको सट्टा सरकारले ७० बर्ष नाघेका जेष्ठ नागरिकलाई १ लाख रुपैँयाको जीवन बिमा गरिदिने घोषणा गरेको छ ।