Breaking News

३७ जनाको परिवार जहाँ कम्युनिजम लागू छ

By Peoplesdailynepal

June 03, 2018

२१ औं शताब्दीमा संयुक्त परिवार विरलै पाइन्छन् । जताततै एकल परिवारमा बस्ने परिपाटीको विकास भएको छ । विवाह गर्नासाथ विवाहित जोडी परिवारबाट अलग भएर बस्ने क्रम बढेको छ । तर, बाँकेको फत्तेपुरमा ३७ जना परिवारको भान्सा एउटै छ । ३७ जनाको परिवार मिलेर बसेको छ ।

माक्र्स, लेनिन र माओले प्रतिपादन गरेको सिद्धान्त कम्युनिजम यो परिवारमा लागू छ । नेतृत्वले दिएको आदेश अक्षरशः पालना हुन्छ । तोकिएको काम नविराईकन खुरुखुरु गर्छन् ।

घरका अगुवा (मूली)ले अह्राएको काम गर्दिनँ भनेर कसैबाट इन्कार हुँदैन । हरेक सदस्यको इमानदारी, मिहिनेत, विश्वास र परिश्रमले ३७ जनाको संयुक्त परिवार अडेको छ ।

छलफलपछि मात्र काम

नयाँ कामको थालनी गर्नुभन्दा पहिले परिवारका सदस्यबीच गहन छलफल हुन्छ । आइपर्ने समस्या, फाइदा र चुनौतीका बारेमा छलफल भएपछि मात्र योजना अगाडि बढाउने वा नबढाउने निर्णय हुन्छ । ‘छलफल नगरी कुनै पनि योजना र काम अगाडि बढाउँदैनौँ,’ घरका अगुवा देखलाल थारूले भने ।

हरेक दिन भए/गरेका कामको लेखाजोखा र आम्दानी बाँध्ने काम रातिको खाना खाइसकेपछि हुन्छ । थारू भाषामा त्यसलाई ‘ख्याल’ भनिन्छ । कमाएर ल्याएको रकम घरका मूलीलाई बुझाउँछन् । र, खर्च भएको रकमको विवरण इमानदारीका साथ बुझाउँछन् ।

‘अहिलेसम्म कसैले पनि हिसाब–किताबमा बेइमानी गरेको पाइएको छैन,’ उनले भने, ‘कहिलेकाहीँ कसैले बेइमानी गरिहाले भने थाहा नपाएको जस्तो गरिदिन्छौँ ।’

योग्यता र क्षमता हेरेर जिम्मेवारी

देखलालको परिवारमा सदस्यको रुचि, दक्षता, योग्यता र क्षमताका आधारमा कामको बाँडफाँड हुन्छ । दैनिक कामका बारेमा साँझ छलफल हुने गरे पनि सधैँ गरिरहेकालाई त्यही काम दिइने गरेको उनले बताए ।

विद्यालयमा अध्ययनरत बालबालिकालाई पनि सुहाउँदो कामको जिम्मेवारी दिने गरिएको छ । भान्सामा काम गर्ने महिलाले एक महिनासम्म भान्सा गर्ने पालो पाउँछन् । अर्को महिना अर्को महिलाको भान्सामा काम गर्ने पालो सर्ने गर्छ । ‘अब कसको पालो भनेर जानकारी गराइराख्नुपर्दैन, आफैँ थाहा पाउँछन्,’ देखलालले भने ।

स्क्रिन प्रिन्टदेखि ठेक्का–पट्टासम्म

देखलालको घरमा तीनवटा ट्याक्टर, स्क्रिन प्रिन्ट, फोटोकपी, फोटो स्टुडियो, मोबाइल पसल, सेलर मिल, सिमेन्ट घोल्ने मिक्चर मेसिन छन् । दुईवटा पक्की र दुईवटा कच्ची घर छन् । पाँचवटा सटर भएको अर्को घर बनाउँदै छन् ।

देखलालको परिवारले ठेक्कापट्टाको काममसेत गर्छ । उनले हुलाकी सडक निर्माण गर्न पेटी ठेक्का लिएका छन् । पुल, कल्भर्ट, तटबन्धको ठेक्का लिने गरेको उनले बताए ।

‘एकछिन यता, एकछिन उता गएर रेखदेख गर्छु, दिनभरि फुर्सद नै हुँदैन, राति पनि निद्रा पर्दैन,’ उनले भने । देखलालको परिवारसँग १२ विघा जमिन छ । हरेक वर्ष कम्तीमा पाँच कठ्ठा जमिन किन्ने गरेको उनले बताए ।

समान लुगा वर्षमा एकपटक

परिवार ठूलो भएकाले वर्षमा एकपटक मात्र परिवारका लागि कपडा किन्ने गरेको देखलालले बताए । साना बच्चाका लागि भने वेलाबखत किन्ने गरिएको उनले बताए । ‘घर परिवार मिलाउनका लागि सबैलाई मिल्ने एउटै थानको कपडा किनेर एकैसाथ प्रदान गरिन्छ,’ उनले भने ।

माछा–मासु बराबर भागबन्डा

घरमा मीठो–मसिनो, माछा–मासु पाकेमा परिवारका कुनै पनि सदस्यले आफूखुसी खाँदैनन् । घरको सबैभन्दा जेठी महिला वा अगुवाका श्रीमतीले पूरै सदस्यलाई समान रूपमा भागबन्डा गरेपछि मात्रै खाने चलन छ ।

भर्खर जन्मेको बच्चाले समेत ठूला व्यक्तिले सरह खानेकुराको भाग पाउने गरेको देखलालले बताए । ‘ज्येष्ठ महिलाले घरका सबै सदस्यका लागि बराबर भाग लगाउँछन्, उमेर ठूलो भए पनि सानो भए पनि खानपिनमा समान अधिकार दिइन्छ,’ उनले भने ।

देखलालको घरमा बिहान १५ किलो चामलको भात पाक्छ । दिउँसो खाजा पनि भात नै पाक्ने गरेको देखलालकी भाइबुहारी चमेली थारूले बताइन् । घरमा कहिल्यै आगो निभ्दैन ।

दिनभर खाना र नास्ता पाक्ने भएकाले चुलोमा आगो बलिरहने चमेलीले बताइन् । ‘थारू चलनअनुसार वर्षमा एक दिन पुरानो आगो निभाएर नयाँ आगो बाल्नुपर्ने हुन्छ, त्यही दिन मात्र पुरानो आगो निभाउँछौँ,’ उनले भनिन् ।