काठमाडौं, २२ जेठ/ नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ मंगलबारबाट शुभारम्भ भएको छ । प्रकृति र मानव सहअस्तित्व कायम राख्दै वातावरण संरक्षण कायम राख्न विश्व वातावरण दिवसको अवसर पारेर महाभियानको शुभारम्भ भएको हो ।
अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियान सफल पार्न सबै नेपालीलाई आह्वान गर्नु भएको छ ।
यसैबीच, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको नेतृत्वमा आज बिहान ललितपुरको जाउलाखेलबाट वातावरण संरक्षणसम्बन्धी र्याली निकालिएको छ । र्यालीमा सरकारी कर्मचारी, विभिन्न विद्यालयका विद्यार्थी, कलाकार, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
र्यालीमा सफा शहर हाम्रो रहर, सेभ वाटर सेभ न्याचरलगायतका नारा लेखिएका प्लेकार्ड बोकिएको थियो ।