Breaking News

ओली सरकारलाई गलहत्याएरै छाड्छौं – गजुरेल

By Peoplesdailynepal

June 15, 2018

नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले जनताको ढाँड भाँच्नेगरी ओली सरकारले लगातार मूल्यबृद्धि गरेको भन्दै अबको सडक आन्दोलनले सरकारलाई गलहत्याएर छाड्ने बताएका छन् ।

चर्काे मात्रामा बढाएको मूल्यबृद्धिलाई ओली सरकारले उही पूरानो ठाउँमा फिर्ता नगरे केही समयभित्र ओली सरकारलाई सडकबाट फ्याँकिदिने चेतावनी पनि दिएका छन् । बिहीबार दिउँसो विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

सोही कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य उमा भुजेलले नेपाली जनताले आफ्नै लगानीमा सो आयोजना सजिलै निर्माण गर्न सकिने नेपालको हिराको रूपमा चिनिने अरूण तेस्रो जलविद्युत आयोजना भारतलाई दिएर ओली सरकारले ठूलो राष्ट्रघात गरेको बताएकी छिन् ।नेतृ भुजेलले समृद्धिको नारा दिएर ओली सरकारले देशमा लगातार पाँचौपटकसम्म पेट्रोलिय पदार्थमा मूल्यबृद्धि गरेको भन्दै ओली सरकारले जनताको बीचमा मुख देखाउने हैसियत गुमाएको समेत बताइन् ।आफ्नो पार्टीलगायत सच्चा कम्युनिस्टहरूले अब आन्दोलनबाट ओली सरकारको राष्ट्रघातका विरूद्ध कडा आन्दोलन गर्ने चेतावनी दिइन् । कार्यक्रममा ऋषि कट्टेल नेतृत्व नेकपाका उपाध्यक्ष लोकनारायण सुवेदीले पनि सम्वोधन गरेका थिए ।

२ बजे शुरु भएको विरोध र्याली बागबजार, पुतलीसडक, भृकुटीमण्डप, भद्रकली, शहिदगेट, न्यूरोड, भोटाहिटीहुँदै पुनः शान्तिवाटिका पुगेर सभामा परिणत भएको थियो । र्यालीमा हजारौंको सहभागी भएका थिए ।कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य मकरध्वज गुरुङले गरेका थिए भने सञ्चालन नेकपा (क्रान्तिकारी)की केन्द्रीय सदस्य शारदा महतले गरेकी थिइन् ।