Breaking News

फेसबुकमा आपत्तिजनक कमेन्ट गर्ने पक्राऊ, साईबर क्राईम अन्तर्गत कारबाही गरिने

By peoplesdailynepal

June 27, 2018

प्रेस काउन्सिल नेपालका पदाधिकारीप्रति लक्षित गरी फेसबुकमा आपत्तिजनक कुरा लेख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षीय विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षीय विष्णु ढकाल रहेका महानगरीय अपराध महाशाखाले जनाएको छ। प्रहरीले गौतमलाई काठमाडौंको टेकुबाट र ढकाललाई नवलपरासीको सुनवलबाट पक्राउ गरेको हो।

न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सीधा कुरा जनतासँग’को विषयमा परेको उजुरीको छानबिनको घटनालाई आधार बनाई नेपाल प्रेस काउन्सिलका पदाधिकारीलाई फेसबुकमार्फत आपत्तिजनक शब्द लेखेको र ज्यान मार्नेसम्मको धम्की दिएको प्रहरीले दाबी गरेको छ। गौतम र ढकाललाई विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको अपराध महाशाखाले जनाएको छ।