Breaking News

कोरियाद्वारा नेपाललाई आग्रह : कोरियाली नागरिकलाई नेपालि भिसा सहज बनादिनुस्

By peoplesdailynepal

July 13, 2018

असार २९, २०७५/ काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले शुक्रवार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरे । उनले देशभक्तिको लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणी गरे । गृहमन्त्री थापाले उत्तर कोरियाले गार्मेन्टलगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरेको गरिरहेको आफूले सुनेको भन्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफूहरु इच्छुृक रहेको बताए ।

राजदूत हकले नेपाल र उत्तर कोरियाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिए । उनले नेपालमा रोजगारीका लागि आउने कोरियाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटिलो हुँदा समस्या रहेको बताएका थिए ।जवाफमा गृहमन्त्री थापाले, सो प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चालिने बताए । राजदूत हकले गृहमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै केही दिनमा हुन गइरहेको आफूहरुकोे राष्ट्रिय दिवसमा उत्तर कोरिया भ्रमणका लागि गृहमन्त्री थापालाई आग्रह गरे ।