काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) पनि अनसनरत डाक्टर गोविन्द केसीको पक्षमा उभिएको छ । अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बेला राजपाले उनको जीवन रक्षाका लागि भन्दै सरकारलाई लचकताका साथ प्रस्तुत हुन सुझाव दिएको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालको मंगलबार बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि लचकताका साथ प्रस्तुत हुन सरकारलाई सुझाव दिएको हो । गोविन्द केसीको आमरण अनसन तोडाउन वार्तामा जोड दिन पनि सरकारसँग आग्रह गरिएको नेता राजकिशोर यादवले जानकारी दिनु भयो । बैठकले वरिष्ठ चिकित्सक केसीबारे सरकारले दिने गरेको अभिव्यक्तिप्रति पनि असन्तुष्टि व्यक्त गरेको छ । पार्टीले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई संसदीय दलको नेता बनाउने निर्णय पनि अनुमोदन गरेको छ ।