Breaking News

पोखराका सुदर्शन बने विश्वस्तरीय कविता प्रतियोगितामा पहिलो (कविता सहित)

By peoplesdailynepal

July 25, 2018

साउन-९, पोखरा/ अन्तराष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले २०५ औँ भानु जयन्तीको अवसरमा आयोजना गरेको विश्वस्तरीय कविता प्रतियोगितामा पोखराका सुदर्शन पौडेल पहिलो भएका छन् ।

गद्य कवितामा पोखराका सुदर्शन पौडेल पहिलो भएका हुन् । त्यसै गरि शिव भुसाल द्वितीय भए । पौडेलकोे मृत्यु र संमवेदना शिर्षकको कविता प्रथम भएको हो । त्यसै गरि पद्य कवितामा हीरा भट्ट तथा वासुदेव पाण्डे क्रमश प्रथम तथा द्वितीय भए भने सुवासचन्द्र भण्डारी, ज्ञानेन्द्रबहादुर सिंह र रश्मि भट्ट तृतीय भए ।

वरिष्ठ कवि हरि अधिकारी, प्राध्यापक हरि पराजुली तथा प्राध्यापक हरिराज भट्टराईको निर्णायक मण्डलले निर्णय गरेको थियो । प्रथम हुनेलाई नगद दुई सय डलर, प्रमाण पत्र र पदक तथा द्वितीय एवम् तृतीय हुनेलाई पदक र सम्मान पत्र प्रदान गरिने जनाइएको छ ।

यस्तो छ मृत्यु र संमवेदना : 

मान्छेहरुले मलाइ धेरै ठाउमा देखेछन्

देखेछन्

मन्दिरका घण्टिहरुमा

ईश्वरका पुत्लाहरुमा

बसका ढोकाहरुमा

महलका सिँढीहरुमा ।

फर्केर पनि नहेर्ने छिमेकीले

सपनामा देखेछ,

महिना मरेपछि मात्र देख्ने साहुले

दिनदिनै देखेछ

उधारो दिन नमान्ने पसलेले

चामलका बोरामा देखेछ,

मेरै जग्गा हडप्ने काकाले

आफनै छोरामा देखेछ

मलाइ देखेछन्,

गुलाब अस्विकार गर्नेहरुले

बगैचाका फुलहरुमा

बिगतको गुन बिर्सिएकाहरुले

लौरी र पुलहरुमा

हिजो जजस्ले देखेनन् कतै,

आज तिनैले सबैतिर देखेछन्

यो देखेरै दुखि छु म देख्नेहरुसित

म आफैले आफैलाइ नदेख्ने भएको छु ।