Breaking News

विद्यालयको खानेपानी ट्यांकीमा ‘खतरनाक’ विष मिसाईयो,१३ विद्यार्थी बिरामी, २ गम्भीर

By peoplesdailynepal

August 14, 2018

मोरङ, साउन २९ – लेटाङ नगरपालिका–९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिएर आज बिहान १३ विद्यार्थी बिरामी परेका छन् ।

ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताउनुभयो । बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको छ । बिहान ११ बजे विद्यार्थीले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए ।

खानेपानी ट्याङ्कीको नजीकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिनुभयो । घटनापछि विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । सो विद्यालयमा कक्षा १ देखि १२ सम्मका ४९१ विद्यार्थी अध्ययनरत छन् ।

विषादी हानिकारक विद्यालयको पानी ट्यांकीमा मिसाइएको साईपर मेथिन १० विषादी हानिकारक विष भएको विज्ञले बताएका छन् । विषादी विशेषत खेती र बालीमा किरा मार्न प्रयोग गरिने विषादी भएकाले हानिकारक रहेको बाली रोग विशेषज्ञ सागर भट्टराईले जानकारी दिए । ‘यो विष हो । विभिन्न खेती प्रयोजनमा प्रयोग गरिन्छ । यो निकै कडा विष तर चाँडै खण्डित हुने भएकाले यसको ७ दिन वेटिङ पिरियड हुन्छ,’ उनले भने, ‘यो सिन्थेटिक पाइरीफ्लोराइड विषादी हो ।’

विष मान्छेसम्म आइपुग्दा पानी र विषको तालमेल नमिल्न पनि सक्ने उनले बताए । ‘यसमा पानीको मात्रा थपघट हुँदा विषादीको प्रभावकारीता पनि थपघट हुन्छ । ठूलो पानीको भोल्युममा थोरै विष मिसाइएको हो भने मान्छे बाँच्ने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘यदि विषादीको पानीमा हाल्नुपर्ने मात्रा मिलेको अवस्थामा यो विषदी घातक हुन्छ ।’ -रासस