काठमाडौं,भदौं १२ – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार र शुक्रबार हुने बिम्स्टेक सम्मेलन गरीबी निवारणमा मुख्यगरी केन्द्रित हुने बताएका छन्। उनले हरेक देशका नागरिक–नागरिकको सम्बन्ध विस्तारका लागि सम्मेलन केन्द्रित हुने बताए।
सम्मेलनबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले वातावरण परिवर्तनका क्षेत्रमा देखिएको परिवर्तन, विकासका चुनौतीहरु, दिगो विकासका लक्ष्यलाई कसरी प्राप्त गर्ने, गरीबी निवारण, कनेक्टीभिटीका विषयमा कसरी सहकार्य गर्ने सन्दर्भमा सम्मेलन उपयोगी हुने अपेक्षा गरिएको उनले बताए। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषय अनावश्यक उछालिएको बताएका छन्। उनले अनुचित विषयमा कर लगाउनु उचित नभए पनि नागरिकले कर तिर्ने अभ्यास गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले हुने खानेसँग कर लिन नहुने र आम्दानीमा कर लिन नपाइने कुरा अर्थशास्त्रभित्र नपर्ने बताए। ‘बस्नदेखि खानसम्म निशुल्क हुनुपर्ने, कर्मचारीको तलब वृद्धि हुनुपर्ने तर कर पनि लिन नहुने, ऋण पनि लिन नहुने’, प्रधानमन्त्री ओलीले भने, ‘अनि कसरी सरकार चलाउने? कसरी काम गर्ने? यो सिकाउने कोही मान्छे भए हुन्थ्यो।’
प्रधानमन्त्रीले आफूले पञ्चायत कालमा गोरुगाडा चलाउँदा कर तिरेको बताए। ‘रेडियोमा कर तिर्नु पर्थ्यो’, उनले भने। ‘एउटा नगरपालिकाले साइकल पसललाई कर लगायो रे। मरेका कुखुरको कर तिर्न भनेको छ र’, उनले भने, ‘कुखुराले अन्डा पार्यो वा पारेन भनेर नगरपालिकाका कर्मचारी बिहानै खोर–खोरमा पुगेका छन् र?’ संविधानले नै कर लगाउने अधिकार दिएपछि स्थानीय सरकारले कसर लगाउनु स्वभाविक भएको बताए।