Breaking News

शेयर बजारमा छायो हरियाली

By peoplesdailynepal

September 04, 2018

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव ९८ अंकले बढेर १ हजार २ सय ६ दशमलव २६ को बिन्दुमा पुगेको छ । त्यस्तै सोमबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि ३ दशमलव ०७ अंकले बढेर २ सय ५४ दशमलव ८७ अंकमा पुगेको छ ।

नेप्से संगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ, आइतबार कुल १ सय ६४ कम्पनीको ४ हजार २ सय ४२ करोबार भई कूल ९ लाख ६० हजार ७१४ कित्ता शेयर खरिदबिक्री हुँदा ३० करोड २५ लाख ९७ हजार २०१ रुपैयाँको कारोबार भएकोमा यस दिन कुल १ सय ६९ कम्पनीको १८ लाख ९८ हजार ३०५ कित्ता शेयर खरिदबिक्री हुँदा ५४ करोड ६० लाख २१ हजार ७१९ रुपैयाँको कारोबार भएको छ ।

सोमबारको कारोबारमा होटल र अन्य समूहमा झिनो गिरावट आएको छ भने सबै समूहको सूचक हराभरा भए । होटल समूह २.२६ अंकले घटेको यो दिन अन्य समूहमा ०.३ अंकको गिरावट आयो । यो दिन बैंकिंग समूह १५.६९ अंकको बढोत्तरी भएको छ भने विकास बैंक समूह १२.७२ अंक, जलविद्युत समूह १९.९८ अंक, निर्जीवन बिमा समूह ९६.६६ अंक, जीवन बिमा समूह ७२.४८ अंक, उत्पादनमूलक ९३.२ अंक, लघुवित्त समूह ३.३ अंक र बित्त समूह ४.५ अंकले बढेको छ ।

सोमबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको १० करोड ८३ लाख बढीको सेयर कारोबार भएको छ । । एनआइसी एशिया बैंकले ३ करोड ३६ लाख बढीको कारोबार गरेको यो दिन एनएमबी बैंकले २ करोड ४७ लाख, नेपाल बैंकले १ करोड ९० लाख, कुमारी बैंकले १ करोड ६३ लाख, जनता बैंकले १ करोड ५६ लाख, सानिमा बैंकले १ करोड ३३ लाख, मेगा बैंकले १ करोड २१ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड १५ लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा प्राइम कमर्सियल बैंकले मात्र एक करोड भन्दा कम अर्थात ९३ लाख बढीको कारोबार गर्यो ।

बजारमा सोमबार दुई कम्पनीको सेयर मूल्यमा करिब १० प्रतिशतको बढेको छ । ती मध्ये लक्ष्मी बैंकका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशत र काबेली विकास बैंकका सेयरधनीले ९ दशमलव ६४ प्रतिशत कमाएका छन् । काबेली विकास बैंकले ३५ प्रतिशत बोनस दिने घोषणा गरेपछि लगानीकर्ताहरु यस कम्पनीको सेयरप्रति आकर्षित भएका हुन् । बैंकले सोमबार बिहान मात्रै नेप्सेमा सो मात्राको बोनस दिने घोषणा सार्वजनिक गरेको थियो ।