Breaking News

‘प्रकाण्ड’ लाई भोजपुर लगियो

By peoplesdailynepal

September 04, 2018

विराटनगर- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्‍गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई मंगलबार भोजपुर लगिएको छ। सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएकै भोलीपल्ट उनलाई मोरङको विराटनगर विमानस्थल हुँदै प्रहरीको गाडीमा राखेर भोजपुर लगिएको हो।

प्रहरीले श्री एअरलाइन्सको जहाजमार्फत बिहान ११: ५० बजे उनलाई ‘सुटुक्‍क’ विराटनगर विमानस्थल ल्याएको थियो। विराटनगर ल्याउने औपचारिक जानकारी नदिए पनि उक्त कुरा थाहा पाएर विमानस्थलमा पुगेका संचारकर्मीलाई छल्दै प्रहरीले उनलाई पूर्वतर्फको नेपाल आयल निगमको बाटो प्रयोग गर्दै त्यहाँबाट बाहिर निकालेको थियो।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भोजपुरतर्फ लगिएका ‘प्रकाण्ड’ लाई मोरङ प्रहरीको टोलीले दुहवी सम्म पुर्‍याएर सुनसरी प्रहरीको जिम्मा लगाएको जानकारी दिए।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र चक्रबहादुर जोशीको इजलासले ‘प्रकाण्ड’ लाई थुनामुक्त गर्न सोमबार तेस्रो पटक आदेश दिएको थियो। यसअघि भदौ १ र ७ गते पनि सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो। तर सर्वोच्चको आदेश कार्यान्वयन नहुँदै प्रहरीले उनलाई पक्राउ गरेको हो।

चन्दावापत सात करोड रुपैयाँभन्दा बढी जबरजस्ती असुलेको अभियोगमा काठमाडौंको दक्षिणकालीबाट गत साउन २३ गते दुई कार्यकर्तासहित पक्राउ परेका ‘प्रकाण्ड’ लाई सर्वोच्चले पटक पटक रिहा गर्न आदेश दिइसके पनि प्रहरीले पुराना मुद्धामा अदालत उपस्थित गराउनुपर्ने भन्दै विभिन्न ठाउँमा पुर्‍याउने गरेको छ।