Breaking News

सर्टिफिकेट धितो राखेर ऋण लिन तयार हुनुहोस्, यस्तो बन्यो कार्यविधि

By peoplesdailynepal

September 19, 2018

काठमाडौँ, २ असोज ।  अर्थ मन्त्रालयले विभिन्न ७ वटा शीर्षकमा सहुलियत दरमा दिइने ऋणको कार्यविधि तयार पारेको छ । बजेटमा भएको सहुलियत ब्याजदरमा ऋण पाउने व्यवस्था कार्यान्वयन गर्न अर्थ मन्त्रालयले बनाएको बजेट कार्ययोजनामा भदौ महिनाभित्र कार्यविधि बनाउने उल्लेख थियो ।

कार्ययोजनामा उल्लेख भएअनुसार नै मन्त्रालयले भदौ महिनामै कार्यविधि बनाएको छ । ‘हामीले तोकिएको समयमा नै कार्यविधि बनाएका छौँ, अब मात्र केही प्राविधिक कुरा हेरेर प्रिन्ट गर्ने काम बाँकी छ, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘देशमा केही गर्न चाहनेलाई मंसिरदेखि ऋण दिन सुरु गर्ने गरी तयारी छ, सर्टिफिकेट धिता राखेर ऋण लिन तयार हुनुहुहोस् ।

स्नातक पास हुनैपर्ने, ४० वर्ष ननाघेको हुनुपर्ने कार्यविधिमा ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँसम्म ऋण पाउनको लागि स्नातक तह पास गरेकै हुनुपर्ने उल्लेख छ । प्राविधिक र गैर प्राविधिक जे विधामा स्नातक गरे पनि ऋण पाइने कार्यविधिमा छ ।

‘काम गर्छु भनेर विश्वास दिलाउने प्रस्तावसहित आएमा प्राविधिक र गैरप्राविधिक जे विषयमा स्नातक पढे पनि ऋण दिने व्यवस्था कार्यविधिमा छ’, सहसचिव खत्रीले भन्नुभयो, ‘जे होस प्रस्तावमा भएको कुराले बैंकहरु कन्भिन्स हुनुपर्‍यो, ऋण पाइन्छ ।’ यस्तै ५ प्रतिशत सहुलियत ऋण पाउनको लागि ४० वर्ष ननाघेको पनि हुनुपर्नेछ । ४० वर्षभन्दा माथि उमेरकाले प्रमाणपत्र धितो राखेर ऋण नपाउने कार्यविधिले जनाएको छ ।