Breaking News

संसदमा व्यङ्ग्य ‘रुख भन्ने वित्तिकै कांग्रेसले चुनाव चिह्न नठान्नु होला,वनको काट्न लागेको हो’

By Peoplesdailynepal

September 20, 2018

काठमाडौं,असोज ४ – प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबन्दै रुख कटानको तयारी गरिएको भन्दै विरोध जनाएका छन् । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकको विशेष समयमा सांसदहरुले डिपीआर नबन्दै रुख कटानको हतारो नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

समयमा सांसद हृदयेश त्रिपाठीले ‘निजगढ विमानस्थलको विषयमा यसको विरोध मा कोही छैन, प्रश्न प्रबृत्ति र कामगर्ने शैलीको हो । डिपीआर तयार भएको छैन, लागत कति लाग्ने भन्ने तय भएको छैन, लगातीको स्रोत गर्भमै छ । खालि हतार के मा भएको छ भने अर्बौंको रुख कटानी गर्नेमा छ’ त्रिपाठीले संसदमा भने, ‘रुख भन्ने वित्तिकै नेपाली कांग्रेसले आफ्नो चुनाव चिह्न नठान्नु होला, साँच्चिकै रुख हो, वनको रुख । डिपीआर नबनी रुख कटानी गर्ने कुरामा हाम्रो आपत्ति छ ।’

स्रोत नखोजी रुख कटानी गर्दा पछि कव्जा गरेर बस्ती बस्ने काम शुरु हुने भन्दै सांसद त्रिपाठीले स्रोतको लगानी खोजेर मात्र रुख कटानीको काम शुरु गर्न माग गरे । संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थल आयोजनाको डीपीआर नै नबनी रुख कटानी गर्ने तयारी गर्नु आपत्तिपूर्ण भएको बताए ।

सांसद राजेन्द्रकुमार केसी र यज्ञराज सुनुवारले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकलाई समान निवृत्तिभरणको व्यवस्थाको पहल गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद महेश बस्नेतले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याराको पहिचान गरी कारवाहीको दायरामा ल्याउन सरकारले उच्च प्राथमिकता दिएको बताए ।

सांसद डिला सङ्ग्रौलाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरे। सांसद नवराज रावतले कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक अलपत्र परेका हुँदा निर्माण सम्पन्न गराउनका लागि थप बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रदीप यादवले संविधान संशोधन गरी सबैको अपनत्व गराउनका लागि ध्यान दिन ढिलाइ गर्न नहुने बताए । सांसद राजेन्द्र लिङ्देनले संविधान संशोधनको बहानामा विखण्डन गर्ने कार्य स्वीकार्य नहुने बताउँदै संविधानलाई सर्वस्वीकार्य बनाउन आग्रह गरे ।