Breaking News

ह्युम पाइपले च्यापिएर एक बालकको मृत्यु, तीन घाइते

By peoplesdailynepal

October 09, 2018

पर्सा, असोज २३ – पर्सामा ह्युम पाइपमाथि खेल्ने क्रममा पाइप गुडेर च्यापिँदा एक बालकको ज्यान गएको छ भने तीन बालिका घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लालबंगला दरबारको खाली जग्गामा कालिका कन्स्ट्रक्सन प्रालिले चाङ लगाएर महिनौ दिनदेखि थुपारेको ह्युम पाइपले च्यापिएर वीरगन्ज–९ रानीघाटका चारजना बालबालिका गम्भीर घाइते भएकोमा एकको ज्यान गएको हो ।

सोमबार बेलुकी विरगञ्ज महानगरपालिका ९ रातो बंगलामा पाइपमाथि खेलिरहेको बेलामा पाइप गुडेर च्यापिँदा विरगन्ज ९ रानीघाटका बाल मुकुन्द प्रसाद राउतका ८ वर्षका छोरा रोहितको ज्यान गएको प्रहरीले जनाएको छ । रोहितको उपचारको क्रममा सोमबार राति ज्यान गएको हो ।

यस्तै पाइपले च्यापिएर पर्साकै जिरा भवानीपुर गाउँपालिका १ का गोविन्द चौधरीका १० वर्षकी अनुष्का र ४ वर्षकी अंकिता तथा विरगन्ज ९ का राकेश यादवकी ९ वर्षकी छोरी आयुषा घाइते भएका छन् । उनीहरुको विरगन्ज हेल्थ केयर विरगन्जमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।