Breaking News

चार लाख ५५ हजार सहित २३ जुवाडे पक्राउ

By peoplesdailynepal

November 08, 2018

भरतपुर महानगरपालिकाका दुई स्थानबाट प्रहरीले गए राति रु चार लाख ५५ हजार ९५० नगदसहित २३ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार राति १ बजे भरतपुर महानगरपालिका–१६ शरणपुरबाट १९ जनालाई रु एक लाख ४९ हजार ६८५ नगदसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार राति नै भरतपुर महानगरपालिका–१५ फुलबारीबाट रु तीन लाख छ हजार २६५ नगदसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । दुवै ठाउँमा जुवा खेलिरहेको सूचनाको आधारमा छापामारी पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका निजहरूउपर मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए । उनीहरुविरुद्ध मुद्दा दर्ता गरिने रेग्मीले बताए। दशैँयता जुवातास खेल्ने ४३ जना विरुद्ध मुद्धा दर्ता गरिसकिएको छ ।