Breaking News

पोखराको सराङकोटमा बैशाखदेखि केवुलकार चल्ने, निर्माण अन्तिम चरणमा

By peoplesdailynepal

December 08, 2018

पोखरा, मंसिर २१ ।पोखराको सेदी देखि सराङकोट जोड्ने निर्माणाधीन केबलकारले आउँदो बैशाखदेखि सेवा सुरु गर्ने भएको छ । निर्माणको ५० प्रतिशत काम सकिएको र ५ महिनाभित्रमा सबै काम पूरा हुने निर्माण कम्पनीले जनाएको छ ।

पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा र वरपरका दृश्य देखाउने उद्देश्यले २ वर्ष अघिदेखि आयोजना निर्माणको काम थालिएको थियो । ‘आयोजना लगभग पुरा भइ सकेको छ,’ अन्नपुर्ण केबलकार प्रालिका डाइरेक्टर तीर्थराज त्रिपाठीले भने, ‘बैशाख वा जेठतिर परिक्षण गर्छौं ।’ २ दशमलव २ किलोमिटर लामो केवुलकारमा १३ वटा टावर रहनेछन् भने पहिलो चरणमा १७ वटा डब्बाबाट सेवा सुरु गर्ने तयारी छ ।

प्रतिघण्टा ५ सय जना सेवाग्राहीलाई सेवा दिन मिल्ने आयोजनाले जनाउको छ । केबलकारको एउटा डब्बामा ८ जनासम्म यात्रु बस्न सक्नेछन् । केबलकार निर्माणका लागि वरपरको जग्गा र वनक्षेत्रमा पर्ने २४ रोपनी जग्गालाई अन्यत्र सट्टा जमिन दिई ४० वर्षका लागि सरकारसँग लिजमा लिएको हो ।

केबलकारको प्रवेशद्वार पोखरा १८ सेदीमा रहने छ । योजनामा ८५ प्रतिशत नेपाली र १५ प्रतिशत विदेशी लगानी रहेको छ । आयोजनाको कुल खर्च करिब एक अर्व १० करोड रहेको कम्पनीको भनाई छ ।dnanepal.com बाट