Breaking News

युद्ध गरेकालाई शान्तिको महत्व थाहा हुन्छ अब शान्ति फैलाउँछु – प्रचण्ड

By peoplesdailynepal

December 29, 2017

ललितपुर, १४ पुस । माओवादी  के न्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धको नेतृत्व गरेकालाई मात्र शान्तिको महत्व सबैभन्दा बढी थाहा हुने बताएका छन् ।

शुक्रबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रचण्डले पहिले युद्धका कमान्डर रहेका अशोकाले पछि बुद्धको सन्देश विश्वभर फैलाएको भन्दै आफूहरू त्यसैमा लागेको बताए ।

‘कतिपयलाई लाग्छ पनि होला, युद्धको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्छ । जसले युद्धको नेतृत्व गरेको हुन्छ, त्यसलाई नै शान्तिको महत्व सबैभन्दा बढी थाहा हुन्छ,’ प्रचण्डले भने, ‘अशोका पहिले युद्धका कमाण्डर थिए, पछि शान्तिका प्रवर्तक भएर बुद्धको सन्देश विश्वभर फैलाए । हाम्रो युद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो । अहिले हामी त्यही संकल्पमा छौं ।’

उनले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमुख एजेन्डा भएको पनि बताए । ‘हामीले जनताको बीचमा स्थिरताको प्रतिबद्धता व्यक्त गरेका छौं, विकासको प्रतिबद्धता गरेका छौं । त्यसलाई मैले शान्ति, सुशासन र समृद्धिका रुपमा परिभाषित गर्दै आएको छु ।

निर्वाचनमा हामीले जनताका बीचमा जे–जस्ता प्रतिबद्धता व्यक्त गरेका छौं, संकल्प गरेका छौं, त्यसलाई पूरा गर्छौं । अब देश शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौं ।’