Breaking News

मन्त्री फेरबदल गर्न प्रधानमन्त्री ओलीमाथि चर्काे दवाव

By peoplesdailynepal

December 20, 2018

काठमाडौं: नेकपाको स्थायी समिति बैठकमा केही नेताले मन्त्रिमण्डल हेरफेर गर्न पनि प्रस्ताव गरेका छन्। सरकारको गम्भीर समीक्षा गरेर प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्रिमण्डल हेरफेर गर्ने बेला आएको नेता रघुजी पन्तले बताए ।

‘प्रधानमन्त्रीले आत्ममूल्यांकन गर्नुपर्छ सरकारको कामबारे। उहाँले आफ्नो अधिकार प्रयोग गरेर आवश्यकताअनुसार मन्त्रीको मूल्यांकन गरेर हेरफेर गर्न सक्नुहुन्छ’, उनले भने। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

नेता पाण्डेले एक व्यक्ति एक जिम्मेवारी हुनुपर्नेमा जोड दिए। उनले पार्टी अध्यक्षले कुन बेला कहाँ के बोलेको भन्ने आधारमा कसैले पनि साइकोलजिकल ब्ल्याकमेलिङ गर्न नहुने बताए। मंगलबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई पार्टीको जिम्मेवारी दिने भनेरै प्रदेश चुनावमा पठाएको धारणा राखेका थिए।

अध्यक्षले योगेश भट्टराईलाई पनि मन्त्री बनाउने भनेको भए पनि कार्यान्वयन नभएको भन्दै इमोसनल ब्ल्याकमेलिङ गर्न नहुने पाण्डेले बताएका हुन्।

नेता पन्तले गण्डकी प्रदेश र प्रदेश ५ का मुख्यमन्त्री तथा प्रदेश इन्चार्जले मुख्यमन्त्री वा पार्टी प्रदेश इन्चार्जमध्ये एउटा पद लिनुपर्ने र अर्को छाड्नुपर्ने बताएका थिए। बुधबारको बैठकमा नेताहरू देव गुरुङ, वर्षमान पुन, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, भीम आचार्य, लेखराज भट्ट र पुष्प कँडेलले धारणा व्यक्त गरेका थिए।