Breaking News

पूर्वएआइजी भट्टराईलाई भ्रष्टाचारको मुद्दामा नौ महीना जेल

By peoplesdailynepal

January 04, 2019

काठमाडौं,पुस २०- विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै नौ महीना कैद र रु ७९ लाख ८७ हजार २२५ बिगो जरिवाना हुने फैसला गरेको छ ।

न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले आज भट्टरार्ईलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो ।भट्टराई प्रहरी सेवाबाट अवकासपछि नयाँ शक्ति पार्टीका नेतासमेत थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईको सम्पत्तिको स्रोत पुष्टी नभएको दाबीसहित २०७३ मंसिरमा अकुतसम्बन्धी मुद्दा दायर गरेको थियो। अदालतको आदेशमा भट्टराईले पदमा हुँदा रु एक करोड २१ लाख ४९ हजार ६५६ बराबर सम्पत्तिको स्रोत उल्लेख नखुलेको हुँदा भ्रष्टाचारी ठहर भएको उल्लेख छ ।

अख्तियारले भट्टराईको कुल तीन करोड १७ लाख ६७ हजार एक सय ३७ रुपैयाँ बराबरको सम्पत्ति मूल्यांकन गरेको थियो। सम्पत्तिमध्ये एक करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबर सम्पत्तिको वैध स्रोत पुष्टी नभएको दाबी अख्तियारको थियो।