Breaking News

हुलाका कर्मचारीलाई रेडियो फ्रिक्वेन्सीबारे सैद्धान्तिक ज्ञान

By peoplesdailynepal

July 04, 2017

असार ६ पोखरा । रेडियो अनुगमन गर्दा ध्यान दिनुपर्ने विषयबारे प्रदेश नम्बर ४ का जिल्ला हुलाक कार्यालयका कर्मचारीले रेडियो बाराहीमा प्रयोगात्मक शिक्षा दिएका छन् । देश संघीयतामा गएपछि संविधानले व्यवस्था गरेअनुसार स्थानीय तहमा सञ्चालित पाँच सय वाट रेडियोको नवीकरण र अनुगमनका लागि हुलाक कर्मचारीलाई अधिकार दिएको छ । जसअनुरुप सूचना तथा संचार मन्त्रालयले पोखरामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको सैद्धान्तिक ज्ञानपछि प्रयोगात्मक कक्षाका लागि रेडियो बाराहीमा अवलोकन गराइएको संचार मन्त्रालयकी प्राविधिक रेणु शाक्यले बताइन् । पोखराको राष्ट्रबैंकचोकस्थित रेडियो बाराहीमा अवलोकन गरी रेडियोको फ्रिक्वेन्सीबारे सैद्धान्तिक ज्ञान दिइएको थियो । कार्यक्रममा रेडियो वाराहीका कार्यकारी निर्देशक रमेश पौडेल रेडीयोको फ्रिक्वेन्सी,वाट बारे अनुगमन गर्दा अवलोकनले कर्मचारी र रेडियो संचालकलाई सहज हुने बताए ।

सञ्चार क्षेत्रको पुनःसंरचनालगायत विषयमा छलफल हुने अभिमुखीकरणमा प्रदेश नं ४ अन्तर्गत गण्डकी तथा धवलागिरिका जिल्लास्थित हुलाक कार्यालयका प्रतिनिधिको सहभागिता छ । मन्त्रालयले सो अभियान थालेपछि ५ सय वाट क्षमताभन्दा कमका रेडियोहरुलाई काठमाण्डौ जानपर्ने र मन्त्रालयमा धाउनुपर्ने समस्याको अन्त्य भएको छ । कार्यक्रममा रेडियोहरुको फ्रिक्वेन्सी व्यवस्थापन गर्न मन्त्रालयलाई आग्रह गरिएको थियो ।