Breaking News

राष्ट्रियसभा अध्यक्ष निर्वाचित घोषणा आज, दुई वर्षमा एक तिहाइ घट्ने

By Peoplesdailynepal

March 14, 2018

काठमाडौं ३०। राष्ट्रियसभाको अध्यक्षमा गणेशप्रसाद तिमिल्सिनाको मात्र उमेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको औपचारिकरुपमा आज घोषणा हुँदैछ । नेकपा (एमाले) को तर्फबाट तिमिल्सिनाले संघीय संसद भवनमा पुगेर सोमबार उम्मेदवारी दर्ता गराएका थिए । संघीय संसद भवनमा आज १ बजे बस्ने राष्ट्रियसभाको बैठकले तिमिल्सिनालाई औपचारिकरुपमा निर्वाचित भएको घोषणा गर्नेछ ।

तिमिल्सनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादी केन्द्रका दिनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल रहेका छन् ।  पर्वतको मादी गाउँपालिकास्थित घर भएका तिमिल्सिना प्रदेश ४ बाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी केन्द्रसँगको सहमतिअनुसार अध्यक्ष पद एमालेको भागमा परेपछि तिमिल्सिना र पर्शुमेघी गुरुङ्ले सो पदमा दावी गर्दैआएका थिए ।

एमाले शीर्ष नेताहरुको सोमबार बालुवाटारमा बसेको बैठकले तिमिल्सिनाको नाममा सहमति गरेपछि उनले उम्मेदवारी दर्ता गराएका थिए । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गराउने बताए पनि अन्तिममा आएर सो दलबाट कसैले उम्मेदवारी दर्ता गरानन् । एमाले छैठौं महाधिवेशनबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका तिमिल्सिना अहिले एमाले पोलिटव्यूरो सदस्य र प्रदेश ४ को सह–संयोजकको जिम्मेवारीमा छन् । २०५४ मा पर्वतको जिविस सभापतिको जिम्मेवारी समेत उनले कुशलतापूर्वक निर्वाह गरेका थिए ।

इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्छु

राष्ट्रिय सभाका अध्यक्षमा औपचारिकरुपमा निर्वाचित घोषणा हुन लागेका अध्यक्ष तिमिल्सिनाले इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गर्ने बताए । तिमिल्सिनाले राष्ट्रकालागि काम गरेर देखाउने ठूलो जिम्मेवारी आफूमा आइपरेको बताए ।

पदमा रहँदासम्म राष्ट्रको जिम्मेवारी सम्झी काम गर्ने उनले प्रतिवद्धता जनाए । सरकारलाई राष्ट्रियसभाप्रति जिम्मेवार बनाउन र सरकारको कामकाजलाई पारदर्शी र प्रभावकारी बनाउनेगरी पदमा हुँदासम्म भूमिका निर्वाह गर्ने उनले प्रतिवद्धता जनाए ।

मुलुकमा गणतन्त्र स्थापनापछि पहिलो पटक गठन भएको राष्ट्रियसभाको अध्यक्षजस्तो पदमा निर्वाचित हुने वातावरण बनेको भन्दै उनले पार्टी र दलका नेताहरुलाई धन्यवाद ज्ञापन गरे । पाएको जिम्मेवारीलाई इमान्दारितापूर्वक वहन गरेर शीर उचो राख्ने प्रतिवद्धता उनले जनाए ।

पदमा रहँदासम्म सभामा कसैप्रति भेदभाव नगरी सत्तापक्षी र प्रतिपक्षीदलका सांसदहरुसँग समान व्यवहार गरेर पारदर्शी ढंगले अघि बढ्छु उनले भने । राष्ट्रिय सभामा ५९ जना सदस्य छन् । ५६ जना प्रत्यक्ष निर्वाचन (हरेक प्रदेशबाट आठ) बाट चुनिएका हुन् भने तीनजना राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मनोनित गरेकी हुन् ।

५९ जना सदस्यमा एमालेको २७, नेपाली कांग्रेसको १३, माओवादी केन्द्रको १२, संघीय समाजवादी फोरम नेपालको २, राजपाको २ र मनोनित ३ रहेका छन् ।

दुई वर्षमा एक तिहाई सदस्य घटने

संविधानको धारा ८६ (३) अनुसार राष्ट्रिय सभाका सदस्यहरुको पदावधि छ वर्षको हुनेछ । तर हरेक दुई वर्षमा एक तिहाई सदस्यको पदावधि समाप्त हुने व्यवस्था छ । संविधानको प्रारम्भ भएपछि पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एक तिहाईको दुई वर्ष, अर्को एक तिहाईको चार वर्ष र बाँकी एक तिहाईको छ वर्ष हुनेगरी पदावधि कायम हुने व्यवस्था संविधानमा छ ।

संवैधानिक यस प्रावधानअनुसार हरेक दुई वर्षमा २० जना सदस्यको पदावधि समाप्त हुनेछ । दुई वर्षपछि गोलाप्रथा प्रक्रियामा सबै ५९ जनाले नै सहभागिता लिनुपर्ने व्यवस्था छ ।

सोही धाराको उपधारा  (४) अनुसार सभाको पहिलो बैठकबाट सदस्यको पदावधि प्रारम्भ भएको मनिने प्रावधान छ ।

त्यस्तै, उपधारा (५) मा राष्ट्रिय सभाको रिक्त हुन आउने स्थानको पूर्ति त्यस्तो स्थान रिक्त गर्ने सदस्यको निर्वाचन वा मनोनयन जुन तरिकाले भएको थियो सोही तरिकाले बाँकी अवधकिालागि गरिने व्यवस्था गरिएको छ ।