Breaking News

पोखराको फिर्के खोला मापदण्डमा पर्ने संरचना भत्काउन १५ दिने सूचना, अटेर गरेमा डोजर लगाइने

By Peoplesdailynepal

March 15, 2018

पोखरा || पोखरा लेखनाथ महानगरपालिकाले पोखराको फिर्के खोलाको रेखाङ्कन शुरु गरेको छ । फिर्के खोलाको सिमाना छुट्याउनुका साथै फुटट्रयाक बनाउने उद्देश्यले महानगरपालिकाले रेखाङ्कन शुरु गरेको हो। फिर्के खोला बगेको जमिनबाट दायाँबायाँ पाँच/पाँच मिटर सिमाना छुट्याएको हो।

रेखाङ्कन गर्ने कार्यको बुधबार महानगरका प्रमुख मानबहादुर जिसीले रेखाङ्कन छुट्याउने शुरुवात गरे। प्रमुख जिसीले फेवातालमा मिसिएको फिर्के खोलाको बिन्दुबाट रेखाङ्कन शुरु गरेका हुन्।

फिर्के खोला अँधेरीकुनाबाट शुरु भएर पस्र्याङ, मालेपाटन, बुलौंदी हुँदै फेवातालमा मिसिन्छ। फिर्केको मुहान अँधेरीकुनासम्मै रेखाङ्कन गरिने जिसीको जिकिर छ। महानगरमा फिर्के खोलाको अतिक्रमण गर्ने र जथाभावी ढल तथा अन्य फोहर गर्ने क्रमले फिर्के संगसंगै फेवातालसमेत दुषित बनेको छ।

महानगरपालिकाका प्रमुख जिसीले एक हप्ताभित्र सक्ने लक्ष राखेर फिर्के खोलाको रेखाङ्कन शुरु गरिएको बताए। महानगर प्रमुख जिसीले फिर्केको जमिन नमिच्नेलाई बधाई र मिच्नेलाई बिदाई गरिने चेतावनी दिएका छन्।

महानगर प्रमुख जिसीले रेखाङ्कन सकिएलगत्तै अल्टिमेटमसहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र त्यसपछि पनि नहटाए महानगरपालिका आफैले डोजर लगाउने बताए। त्यसरी डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने उनको भनाई छ।

पहिलो चरणमा फिर्केको रेखाङ्कन सक्ने र त्यसपछि सेती नदीको पनि सिमाना रेखाङ्कन र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाइने प्रमुख जिसीले जानकारी दिए।

२०७२ सालमा फिर्के खोलाको मापदण्ड १० मिटर कायम भएको भएपनि हाललाइ फिर्केमा जथाभावी फोहरमैला नहोस् र ढल नमिसाइयोस भन्ने उद्देश्यले निर्माण गर्न लागिएको फुट ट्रयाकका लागि रेखाङ्कन शुरु गरिएको इञ्जीनियर महेन्द्र गोदारले बताए।

हाललाई भने पाँच मिटरको मापदण्डभित्र रहेका सबै संरचना महानगरले भत्काउने उनको भनाइ थियो।