Breaking News

दीर्घकालिन आम्दानीका लागि भौतिक संरचना निर्माणमा लगानी

By Peoplesdailynepal

March 18, 2018

चैत ४ बागलुङ || परम्परागत तरकारी खेती गर्दै आएका यहाँका किसानले दीर्घकालिन आम्दानीका लागि भौतिक संरचना निर्माणमा लगानी बढाएका छन् । प्लाष्टिक घरहरु केही वर्षमै कुहिने भएपछि किसानहरु लाखौं खर्चेर फलामबाट निर्माण हुने ‘हाइटेक टनेल’ प्रविधिका लागि लगानी बढाएका छन ।

थोरै लगानीमा परम्परागत रुपमा बाँसको प्रयोग गरेर बनाइएका प्लाष्टिक घरभित्र तरकारीखेती गर्दा राम्रो आम्दानी हुने थियो तर त्यसको दिगोपन थिएन । फलामबाट निर्माण भएको टनेल लामो सयम सम्म टिक्ने हुँदा किसानहरु त्यसतर्फ आकर्षित बन्न लागेका हुन । बाँसबाट निर्माण गरिने प्लाष्टिक घर धेरै वर्ष नटिक्ने, ठूलो हावाहुरी आउँदा प्लाष्टिक घरनै उडाउने समस्याबाट पीडित किसानहरु ‘हाइटेक टनेल’ निर्माणमा लगानी गरेका छन । यस्तो प्रविधिको घर निर्माण गर्दा समय समयमा झनझट नहुँने हुँदा किसानहरु यस तर्फ आकर्षित भएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ ।

कार्यालयका अनुसार बागलुङमा सयौं किसानले प्लाष्टिक घरभित्र तरकारी खेती गर्ने गरेका छन । तर एक दर्जन भन्दा बढी किसानले आधुनिक प्लाष्टिक घर निर्माणका लागि लगानी गरिरहेको कृषि प्रसार अधिकृत विप्लब अधिकारीले जानकारी दिए । लामो समय सम्म परम्परागत तरकारी खेती गरेका जिल्लाको हरिचौरका किसान गुमानसिंह खत्रीले अहिले लाखौं खर्च गरेर आधुनिक प्लाष्टिक घर निर्माण गरेका छन । ‘केही वर्ष अगाडि जिल्लाका सक्रिय कृषकहरु सँगको कृषि भ्रमणकै सिलसिलामा जाँदा उक्त प्रविधि देखेपछि आफु पनि त्यसमा भएको बताए । खत्रीले भने ‘ भ्रमणमा जाँदा फलामबाट निर्मित प्लाष्टिक घर बनाएर तरकारी खेती गरेको देखे अहिले म पनि त्यसलाई १५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरेको छु । यो टनेल लामो समय सम्म चल्ने हुँदा अहिले किसानहरु त्यसमा आकर्षित भएका हुन ।

बागलुङमा खत्रीले पहिलो पटक आधुनिक प्लाष्टिक घर निर्माण गरेपछि अन्य किसानहरु त्यसतर्फ आकर्षित भएका छन् । खत्रीलाई नेपाल सरकारले दस लाख रुपियाँ अनुदान समेत दिएको थियो । बाँसबाट निर्मित प्लाष्टिक घरमा लामो समयसम्म तरकारी खेती गरेका खत्रीले वर्षेनी पाँच–छ लाख रुपैयाँ कमाउँदै आएकोमा आधुनिक प्रविधिबाट निर्मित प्लाष्टिक घरमा अझ बढी आम्दानी हुने गरेको बताए ।

एक वर्ष अगाडि निर्माण गरिएका चारवटा आधुनिक प्लाष्टिक घरमा खत्रीलाई अहिले कुनै झनझट छैन । उनले इजरायली हाइटेक प्रविधिको टर्नेल घर तथा थोपा सिंचाई प्रविधिवाट तरकारी खेती गर्दै आएका छन । खत्रीले आफूले गरेको दीर्घकालिन आम्दानीको योजना अनुसार अन्य किसानहरुपनि यसतर्फ आकर्षित बनेको बताए । ‘जिल्लामा थुप्रै किसानले प्लाष्टिक घरभित्र तरकारी खेती गरेका छन् बागलुङ नगरपालिका वडा नं. ३ मा रहेको पाउरहाउस क्षेत्रमा पनि दर्जनौ ‘हाइटेक टनेल’ निर्माण गरी किसानहरुले तरकारी खेती गर्दै आएका छन । किसानहरुले टनेल भित्र मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्नका लागि सहज भएको बताउँछन । एकपटकको लगानीले आफ्नो पुस्तालाइनै पुग्ने भएपछि किसानहरु यसमा आकर्षित भएका छन ।