Breaking News

अब कक्षा ११ र १२ को पढाई पनि १० सम्म जस्तै हुने, अनिवार्य अँग्रेजी र नेपालीबाहेक बाँकी सबै विषय एेच्छिक, संकाय नहुने

By Peoplesdailynepal

May 07, 2018

काठमाडौं,बैशाख २३ – सरकारले आगामी शैक्षिक सत्रबाट कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । कक्षा १२ सम्म विद्यालय शिक्षामा रुपान्तरण भएसँगै कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन हुन लागेको हो । पाठ्यक्रम परिवर्तन भएपछि अब ११ को पा कक्षा ११ र १२ मा विषयपिच्छेको संकाय नहुने भएको छ ।

विद्यालय शिक्षामा रुपान्तरण भएसँगै विभिन्न संकायको रुपमा अध्ययन अध्यापन गराउने पद्धति हटाएर अब कक्षा ९ र १० कै जस्तो पाठ्यक्रम लागू हुने भएको छ ।

शिशुकक्षा देखि १२ सम्म विद्यालय संरचनामा रुपान्तरण भएसंगै कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन शिक्षा, मानविकी लगायत समूहका अलगअलग पाठ्यक्रम नहुने भएको छ । विद्यालय तहमा जसरी पढाइ हुन्छ, कक्षा १२ सम्म पनि सोही अनुसार एकल पथीय (सिंगल ट्रयाक) का रुपमा जाने भएको छ । नीतिगत निर्णय भए पनि पाठ्यक्रमको स्वरुपलार्इ अन्तिम रुप दिन भने बाँकी छ ।

उच्च माध्यमिक शिक्षा परिषद् ऐन बनेपछि वर्ष २०४९ बाट कक्षा ११ र १२ अलग शैक्षिक संरचना बनेको थियो । त्यही बेलादेखि विश्वविद्यालयमा जस्तै विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा समूहको अलगै संकाय प्रणाली चलेको थियो । अब अनिवार्य अँग्रेजी र नेपालीबाहेक बाँकी सबै विषय एेच्छिक हुनेछन् ।