Breaking News

एक्लै फर्किए दुलही लिन गएका दुलाहा

By peoplesdailynepal

July 19, 2018

दमौलीः व्यास नगरपालिका–१२ कमलाबारीका ३० वर्षीय अशोक राना आइतबार ठाँटिएर दमौलीको दुर्गा मन्दिर आइपुगे । उनीसँगै आफन्तको लावालस्कर पनि थियो । नवदुलाहाको भेषमा ढाकाको दौरा सुरुवाल लगाएका राना दुलाहा भएकोमा कुनै शंका थिएन । दुर्गा मन्दिरमा हुने भनिएको बिहेका लागि घरबाट आफन्तसहितको जन्ती लिएर आएका राना विहान ११ बजे दमौली झरे पनि साँझसम्म उनले हुनेवाली श्रीमती देख्नै पाएनन् ।

उनलाई बिहेका लागि केटी ठीक्क पारेको बताउने आफन्त शुक्लागण्डकी नगरपालिका–८ खैरेनीटार निवासी लक्ष्मी सिंहले ठगेको रहस्य बेलुका मात्रै खुल्याो । दुलही आउँदै गरेको बताउँदा शुरुमा पत्याएका आफन्तले साँझ मात्र उनले ढोंग रचेको थाहा पाए ।  श्रीमान् जगतबहादुरसँग मिलेर उनले ठगीको प्रपञ्च रचेर झुक्याइरहेको खुलेपछि आफन्तले जोडीलाई समातेर प्रहरी कार्यालय बुझाइदिए । अनुसन्धानका क्रममा ठगी गर्ने उद्देश्यले दम्पत्तीले आफन्त झुक्याएको खुलेपछि उनीहरुविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए ।

‘केटी नै नहेरी दुलाहा विवाहका लागि आएको देखिन्छ,’ मल्लले भने,‘हेर्न जान्छु भन्दा केटी ठीक्क भएको जवाफ दिएकाले दुलाहा पक्ष ढुक्क भएको पाइयो ।’ बुवाको निधन भएपछि घरमा आमा मात्रै हुँदा रानाको लामो समय बिहे नभएको भन्दै आफन्तले केटी खोज्ने जिम्मा लक्ष्मीलाई दिएका थिए । उनले कपिलवस्तुबाट केटी आउने र त्यही दिन बिहे गर्ने जानकारी दिँदै गरगहनाको तयारी गर्न भनेकी थिइन् ।

‘पहिल्यै गरगहना लिएर भाग्ने मनसाय उनीहरुको देखिन्छ,’ प्रहरी नायव उपरीक्षक मल्लले भने,‘तर दुलाहा पक्षले विवाहमै दिने भनेकाले उनीहरुको पहिलो योजना सफल भएन ।’  विवाहको दिनसमेत गहना मागेर दुलहीलाई दिने भनेका सिंह दम्पत्तीको कुरामा विश्वास नलागेपछि आफन्त प्रहरीसमक्ष पुगेका थिए । दुलाहाका ठूलोबाबु मोति थापाले पहिल्यै केटी नदेखे पनि नातासम्बन्धका हिसाबले भर पर्दा धोका पाएको बताए ।

प्रहरीले दम्पत्तीविरुद्ध सार्वजनिक अपराध मुद्दामा अनुसन्धानका लागि २५ दिनको म्याद लिएर अनुसन्धान थालेको डिएसपी मल्लले बताए । आफ्नै आफन्तबाट धोका भएपछि जन्तीसहित दुलही भित्र्याउने आफन्तको योजना अधुरै रह्यो । दुलाहापक्ष आफन्तबाटै भएको धोकाबाट विक्षिप्त भएका छन् । अन्नपुर्ण पोष्ट बाट